३ महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार असार सात गतेसम्म झण्डै सात हजार जग्गा रोक्का तथा फुकुवा भएको छ । आर्थिक कारोबार ठप्प भयो भन्दै लकडाउनकै बखत रोक्का तथा फुकुवाका मागसमेत आएको तर कार्यालय असार १ गतेदेखि खुलेपछि रोक्का फुकुवाको क्रम ह्वात्तै बढेको पौडेलले बताए ।
उनी भन्छन्, ‘सेवा प्रवाह गर्नासाथ अगाडीको तुलनामा रोक्का तथा फुकुवा गर्नेहरु निक्कै बढेको छ । यसमा पनि बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि बढी रोक्का राखेको देखिन्छ ।’
खर्च टार्न जग्गा धितोमा राख्ने उद्योगी व्यवसायी मात्र होइन घरायसी खर्च प्रयोजनका लागि पनि जग्गा धितोमा ऋण लिनेहरु देखिएका छन ।
तर यता लकडाउनकै बीच धितो लिलामी प्रक्रिया शुरु गरेर बैङ्कहरुले ऋणीलाई सास्ती दिन थालेका छन् । बैङ्कहरुको सास्ती पछि सर्वोच्च अदालतले बन्दाबन्दीमा धितो लिलामी गर्नुको कारण खोजेको छ । लकडाउनका कारण व्यवसाय प्रभावित भएको भन्दै विभिन्न क्षेत्रबाट सरकारसँग राहतको माग हुँदा यता बैङ्कहरुले ऋणीलाई भने ऋण तिर्न पटक पटक ताकेता गर्दै आहत दिएका छन् ।
बैङ्कहरुले लकडाउनकै बीच ऋण असुली गर्न ऋणीको फोटो सहितको सूचना राष्ट्रिय दैनिकमै प्रकाशित गरेर ऋणीलाई सास्ती दिन थालेका थिए । ऋण असुली गर्नुको जवाफ सर्वोच्चले सूचना प्रकाशित गर्ने बैङ्कहरुसँग मागेको छ । अवस्था सामान्य भएको ६ महिनापछिबाट मात्र नियमअनुसार किस्तामार्फत बाँकी साँवा ब्याज रकम असुल गर्न र बन्दाबन्दीको अवधिभित्रै ऋण भुक्तानी गर्नुपर्ने म्याद समाप्त भएको ऋणी व्यवसायीहरुलाई समेत कर्जा मिलान गर्ने एवम नवीकरण गर्ने प्रबन्ध मिलाउन माग गर्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्चको कारण देखाउ आदेश ऋणीको पक्षमा उभिएको छ ।
FACEBOOK COMMENTS