काठमाडौं, भदौ १३ – लक्षण भएका कोरोना संक्रमितलाई अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरीको अस्पताल (युनिफाइड अस्पताल)मा राखिएको छ ।
वीर अस्पताल, नेपाली सेनाको अस्पताल, नेपाल प्रहरी अस्पतालमा पनि आइसोलेसन थप गरी लक्षण भएको संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, मेघा अस्पतालमा ५० बेड, नेपाल मेडिकल कलेजमा १०० बेड, केएमसी दुवाकोटमा १०० बेड, किष्ट मेडिकल कलेजमा १०० बेडबाट सेवा दिने गरी सम्झौता गरिसकेको मन्त्रालयले जनाएको छ । आवश्यकताको आधारमा थप केही निजी अस्पतालसँग समन्वय गरिने बताइएको छ।
काठमाडौंमा लक्षण सहितका संक्रमित बढ्दै जाँदा सरकारले लक्षण नभएका संक्रमितहरुलाई अस्पतालमा भर्ना नगर्ने नीति लिएको छ। जसअनुसार यसअघि भर्ना भई उपचाररतलाई पनि १० दिनका दिन पिसिआर टेष्ट गर्ने र त्यसमा पोजेटिभ आएमा १४ दिनपछि टेष्ट नगरी घर पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो।
१४ दिनभन्दा बढी अस्पतालमा राखे त्यसको खर्च सरकारले नबेहोर्ने पनि मन्त्रालयले जनाइसकेको छ।
FACEBOOK COMMENTS