काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवालले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति लचिलो र आर्थिक गतिविधि बढाउने खालको भएका बताएका छन् ।
राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई ‘सजगतापूर्ण लचिलो मौद्रिक नीति’ भएको टिप्पणी गर्दै उनले यसबाट आम उद्यमी व्यवसायी उत्साहित भएको समेत बताए ।
‘यो मौद्रिक नीतिले उद्यमी व्यवसायीलाई उत्साहित बनाएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखिनुले जहता थपेको छ । विगतमा भएका सङ्कुचनयुक्त नीतिबाट प्रभावित उद्यामी व्यवसायीहरूलाई यसले सहजता दिन्छ ।’ लचिलोपनको यो सुरूवात हुनुपर्ने भन्दै उनले आगामी मौद्रिक नीतिहरूमा पनि यस्तो प्रावधानहरूलाई निरन्तरता दिँदै जानुपर्ने भनाइ उनको छ ।
यस्तै, उनले नयाँ मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्र चलायमान बन्ने विश्वास पनि व्यक्त गरेका छन् । ‘सजगतापूर्ण लचक नीति आएको छ । यसले आर्थिक गतिविधि विस्तार गर्न धेरै सहयोग पुर्याउँछ,’ चेम्बर अध्यक्ष अग्रवालले भने, ‘चालू पुँजी कर्जा निर्देशिकाले हामीलाई समस्या पारिरहेको थियो । जसले कर्जा प्रवाहमा सङ्कुचन ल्याइरहेको थियो । अहिलेको नीतिले उद्योग व्यवसायको प्रकृति हेरेर चालु पुँजी कर्जा निर्देशिका परिमार्जन गरिने उल्लेख छ । यो राम्रो सुरूवात हो ।’
यस्तै, कालोसूचीमा परेका उद्योगी व्यवसायीका लागि ब्याज तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरिनु पनि सकारात्मक रहेको उनले बताए । शेयर धितो कर्जाको सीमा बढाउनु, आधार दर बढीमा दुई प्रतिशतसम्म कायम गरिनु, घरजग्गा कारोबारमा मूल्याङ्कन र ऋणको सीमा बढाइनुलगायतले समग्र उद्योग व्यवसायको क्षेत्रमा उत्साह छाएको उनको भनाइ छ ।
अर्थतन्त्र चलायमान बनाउन यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)
FACEBOOK COMMENTS