काठमाडौं, पुस २३ – ललितपुर महानगरपालिकाले स्कुल–स्कुलबाट ट्राफिक सचेतना अभियान शुरू गरेको छ। पछिल्लो समय महानगरमा बढेको सवारी दुर्घटनाबाट हुने मृत्युदर नियन्त्रण र न्यूनिकरणका लागि महानगरले ललितपुर नगर प्रहरीलाई सो अभियान सञ्चालनको जिम्मा दिएको छ।
नगर प्रहरीले यसैबिच बुधबारदेखि दैनिक एक घण्टा महानगर भित्रका स्कुलमा गएर बालबालिकालाई ट्राफिक सचेतना अभियानबारे जानकारीमुलक कक्षा सुरू गरिसकेको छ। ‘दैनिक एक घण्टा विद्यालयमा गएर बाल–बालिकालाई ट्राफिक नियमबारे सचेत गराउन बुधबारदेखिनै थालेका छौँ,’ ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने,‘मेयर सा’पको नमूना नगर अभियान अन्तर्गत विद्यालयमा ट्राफिक सचेतना कार्यक्रमसमेत भएकाले सोही अनुसार हामीले कक्षा लिन सुरू गरेका हौ।’
उनले बुधवार आफूहरूले पुल्चोककै त्रिपद्म विद्याश्रम मा.बिका १ सय ५ जना विद्यार्थीलाई ट्राफिक सचेतनाबारे कक्षा लिएको जानकारी गराए। नगर प्रहरीले विद्यार्थीलाई ट्राफिक सचेतनासम्बन्धी वृतचित्र ‘ट्राफिक अङ्कल’ देखाउनुका साथै सवारी चलाउँदा तथा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सचेत गराउने गर्छ।
ललितपुर महानगरका मेयर चिरिबावु महर्जनले पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलाई नगर प्रहरीको नेतृत्व सुम्पिएका थिए। हाछेथुको कमाण्डमा रहेको नगरटोलीले बनाएर स्कुल–स्कुलमा गएर ट्राफिक चेतनाबारे कक्षा दिएर दुर्घटना न्यूनिकरण गराउने काम गर्नेछ।
‘सडकको अवस्था, चालकको कमजोरी र ट्राफिक जनचेतनाको कमीले दैनिक सवारी दुर्घटना बढ्दै गएका छन्’, हाछेथुले भने, ‘ललितपुर महानगरपालिकामा सवारी दुर्घटनाबाट मात्र दैनिक ३ जनाको मृत्यु हुने गरेको छ। यसलाई न्यूनिकरणका लागि हामी महानगरका सबै स्कुल र संघ संस्थामा गएर ट्राफिक शिक्षा दिन्छौं।’
हाछेथुको टीमले विद्यार्थीलाई मादक पदार्थसेवन गरी सवारीचलाउँदा हुने दुर्घटनादेखि तीव्र गतिमा मोटरसाइकल चलाउँदा हुने दुर्घटनाबारे सचेत गराउने गरेको छ । सार्वजनिक सवारीका छतमा र झुण्डिएर यात्रा गर्दा हुने सम्भावित दुर्घटनाबारे, सडक नियम पालनालगायत पनि विद्यार्थीलाई सिकाउने गरिएको उनले बताए।
यसअघि ललितपुर महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई नगरको सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाउने भन्दै ट्राफिक तालिम दिएको थियो। ललितपुर महानगरलाई मुलुककै नमूना नगर बनाउने भन्दै नगर प्रमुख चिरीबाबु महर्जनले आफ्नो नगर भित्र बढेको सवारी चाप र दुर्घटना न्यूनिकरण गर्न आफ्ना प्रहरीलाई तालिम दिएको बताए।
‘महानगरले गर्ने महत्वपूर्ण काममध्ये ट्राफिक व्यवस्थापन र सवारी पार्किङ पनि एक हो, पछिल्लो समय नगरमा बढेको सवारी चाप र दुर्घटना हेर्दा ट्राफिक प्रहरीको दरबन्दी कम देखन्छ’, नगर प्रमुख महर्जनले भने, ‘ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीको मात्र नभइ सडक विभाग यातायात व्यवस्था विभाग र स्थानीय सरकारको पनि हो। त्यसैले ट्राफिक प्रहरीलाई सघाउ पुर्याउन हाम्रा नगर प्रहरीलाई तालिम दिन लागेका हौ।’
उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईसँग समन्वय गरेरै ट्राफिक तालिम दिएका हुन्। हाल जोर विजोर हटेसँगै सवारी चाप र दुर्घटना बढेको भन्दै यसलाई न्यूनिकरण गर्दै सवारी व्यवस्थापनमा केही हदसम्म भए पनि नगरप्रहरीले ट्राफिक प्रहरीलाई सघाउन तालिम प्राप्त बनाइएको ललितपुर नगर प्रहरी प्रमुख हाथेछुले बताए।
‘सडकले नै थेग्न नसक्ने गरी सवारी साधन र मानिसको घुइँचोले ट्राफिक समस्या दिन प्रतिदिन बढिरहेको छ। नगरवासी तथा नगर भएर आवतजावत गर्ने सबै सडक प्रयोगकर्तालाई दुर्घटना हुन नदिई समयमै शकुसल गन्तब्यमा पुर्याउने उद्देश्यले ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अगडि बढ्ने निर्णय गरेका हौ’, हाथेछुले सेतोपाटीसँग भने।
उनले ट्राफिक प्रहरीको जनशक्ति कम भएकाले गल्ली गल्ली र चोक चोकमा बढेको सवारी नियन्त्रणका लागि ट्राफिक प्रहरीको ड्यूटी राख्न नसकिएको भन्दै त्यस्ता ठाउँमा नगरप्रहरीले परिपूर्ति गरिने जानकारी दिए। उनले अब महानगरभित्र कुनै पनि स्थानमा भएको सवारी जाम हटाउन ट्राफिक प्रहरीसँगै नगरप्रहरी पनि तयार हुने उनले दाबी गरे।
‘अब ट्राफिक जाम भयो भने ट्राफिक प्रहरीलाई मात्र नभनीकन नगर प्रहरीलाई पनि कल गर्नुभयो भने हामी ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरीसँग तत्काल समन्वय गरेर सडक जामरहित बनाउनेछौ’, उनले भने नगरप्रहरीले ट्राफिक प्रहरीसँग सदैव हातेमालो गरेर जनताको सेवामा हाजिर हुनेछ।’
ट्राफिक प्रहरी नपुगेको ठाउँमा नगर प्ररहीले पनि सवारी व्यवस्थापन गर्न सकोस् भनेर तालिम दिन लागेको हाथेछुले दोहोर्याए।
‘नगर प्रहरीको काम फुटपाथको पसल हटाउने मात्र होइन सवारी व्यवस्थापन चुस्त दुरूस्त राखेर नगरलाई व्यवस्थित र सुरक्षित बनाउने दायित्व पनि हो’, उनले भने,‘यसका लागि नगर प्रहरी सधै ट्राफिक प्रहरीको साथमा छ।’
‘बरु नगरवासीलाई महानगरपालिकासँग सम्बन्धित कुनै समस्या छ, वा नगर प्रहरीको सहयोग चाहिएको छ भने हामी त्यसका लागि तत्पर भएर उहाँहरुको सेवामा खटिने छौँ,’ उनले भने, ‘किनकि नगर प्रहरी भनेको महानगरवासीले नै तिरेको करबाट तलब–सुविधा लिएर उहाँहरुकै सुविधाका लागि परिचालित हुने संगठन हो भन्ने सन्देश हामीले दिनुपर्छ ।’
FACEBOOK COMMENTS