काठमाडौँ, चैत २२ – ललितपुर मेयर वुमन्स च्याम्पियन्सिपमा आइतबार सशस्त्र प्रहरीको एपीएफ र ललितपुर मेयर एघारले जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हरायो भने ललितपुरले लुम्बिनी प्रदेशमाथि २७ रनको जित हासिल गर्यो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेको एपीएफले पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्ष्तिमा एक सय २७ रन बनायो । सुदूरपश्चिमले भने १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन मात्रै बनाउन सक्यो ।
एपीएफको जितमा ओपनर ज्योती पान्डेको अर्धशतक महत्वपूर्ण रह्यो । प्रतियोगिताको पहिलो खेलमा ३२ रन बनाएकी ज्योतीले सुदूरपश्चिमविरुद्ध ५९ रन जोडिन् ।त्यस्तै विभागिय टिमका लागि सरिता मगरले ३५ रन बनाइन् भने कप्तान सिता राना मगरले १६ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमकी सुनिता लुहारले एक विकेट लिइन् भने कविता जोशीको नाममा समान एक विकेट रह्यो ।
जवाफी ब्याटिङमा उत्रेको सुदूरपश्चिमले खराब सुरुवात गर्यो । ओपनरद्वय मन्जु बोकटी र कविता कुवँर क्रमशः दुई र पाँच रनमा आउट हुँदा पराजित टिमका लागि सुनिताले बनाएको २३ रन नै सर्वाधिक स्कोर रह्यो । रेवती धामीले १२ रन जोडिन् भने डोली भट्टले १६ रन बनाइन् । बाँकी खेलाडीले भने दोहारो अंक छुन सकेनन् ।
उता सुमन खतिवडाले सर्वाधिक ७७ रन बनाएपछि ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रनको योगफल तयार पार्यो । लुम्बिनीले भने पाँच विकेटको क्षतिमा एक सय १७ रन मात्रै बनाउन सक्यो । विष्फोटक ब्याटिङ गरेकी सुमनले ५२ बल सामना गर्दा दुई छक्का र नौ चौका प्रहार गरिन् । त्यस्तै अस्मिना कर्माचार्यले २० रन जोडिन् । दुबै खेलाडी अविजित रहे । ललितपुरका बाँकी ब्याट्सवुमनहरुको प्रदर्शन भने फिक्का रह्यो ।
लुम्बिनीका सुस्मिता भुषाल, सवतिका बजगाई, किर्तिका मरासिनी सरस्वती पुनले एक-एक विकेट लिए । उता लुम्बिनीकी सरस्वती जिएमले अविजित ४६ रन बनाए पनि टिमको हार टार्न सकिनन् । पराजित टिमकी ओपनर नितु भण्डारी र कप्तान नेरी थापाले समान २० रन बनाए । बलिङतर्फ ललितपुरका सरस्वती कुमारी र आरती बिडारीले एक-एक विकेट लिए ।
FACEBOOK COMMENTS