काठमाडौं, साउन १२ -कोरोना भाइरसको संक्रमण शुरू भएसँगै सरकारले २०७६ चैत १३ देखि आन्तरिक उडानमा रोक लगाएको थियो । लामो समय रोकिएको आन्तरिक उडान भदौँ १ गतेदेखि पुन स् सञ्चालनमा आउने भएको छ । आन्तरिक उडान खुला भए पनि साविकको भन्दा ७५ प्रतिशत कम उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी गरिरहेको छ ।
कोरोना भाइसर संक्रमणको महामारी नफैलियोस् र यात्रुहरूलाई कुनै किसिमको जोखिम नहोस् भन्ने उद्देश्यले दैनिक ३० उडान गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ । दैनिक ३० उडानले मात्र यात्रुको चापलाई धान्न नसक्ने हुँदा प्राधिकरणले आवश्यक स्वास्थ्य प्रोटोकल बनाएर केही उडानहरू थप गर्ने गृहकार्य गरिरहेको छ ।
ठूला एयरलाइन्सहरुलाई उडान संख्या थप्न सुझाव दिएसँगै क्यानले गृहकार्य थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता १ घण्टामा ६०० जना यात्रुहरूलाई थेग्न सक्ने भए पनि अहिले भिड नबढाउने उद्देश्य विमानस्थलमा प्यासेन्जरको भिड कम होस् भन्ने उद्धेश्यले १ घण्टामा ३५० भन्दाबढी यात्रुहरूलाई ओसार्न प्रावधान ल्याइएको क्यानले जनाएको छ । उडान संख्या बढेपनि एयरलाइन्सहरूले हवाइ भाडा नबढाउने भएका छन् ।
हवाइ उडानमा क्षमता भन्दा यात्रुको संख्या कम हुने भएपनि तत्कालका लागि हवाई भाडा नबढ्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कंँडेलले बताए । यात्रुको संख्या जति नै भए पनि भाडा नबढ्ने र प्रतिस्पर्धाका लागि नघटाउने सहमति भएको प्रवक्ता कंँडेलले बताए । कोरोना कहरका बेला भाडा बढाउने वा घटाउने भन्दापनि साविकको मूल्यमै यात्रुहरूलाई सुविधा दिन एयरलाइन्सहरू तयार भएको प्रवक्ता कंँडेलले बताए ।
हवाई उडानका लागि आवश्यक स्वास्थ्य प्रोटोकल सबै एयरलाइन्सहरूले बनाएर स्वीकृती लिइसकेका छन् । बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, सीता एयर, तारा एयर र सिम्रिक एयरलाइन्सले स्वास्थ्य प्रोटोकल तयार पारेर क्यानमा बुझाइसकेका छन् । यस्तै १० वटै हेलिकप्टर कम्पनीहरुले पनि आवश्यक प्रोटोकलहरु तयार पारी स्वीकृती लिइसकेका छन् ।
FACEBOOK COMMENTS