काठमाडौं, कात्तिक २ – स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिड पराजित भएका छन् । बार्सिलोना गेटाफेसँग तथा रियल मड्रिड क्याडिजसँग समान १-० गोलअन्तरले पराजित भएका हुन् ।
बार्सिलोनालाई पराजित गर्न घरेलु टोली गेटाफेका जेइमी माटाले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । बार्सिलोनाले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा हार खेप्न बाध्य भयो ।
जितपछि गेटाफे ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको रियल म्याड्रिडसँग अंक बराबरी भएपनि गेटाफे गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै रियल मड्रिड नवप्रवेशी क्लब क्याडिजसँग स्तब्ध बनेको हो । नयाँ सिजनको ला लिगामा रियलको यो पहिलो हार हो । पहिलो खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकिएको रियलले त्यसपछिको सबै तीन खेलमा जित हात पारेको थियो ।
शनिबार राति रियललाई स्तब्ध बनाउन एन्थोनी लोसानोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
हारपछि पनि रियल गोल अन्तरका आधारमा शीर्षस्थानमा यथावत रहेको छ । रियलको ५ खेलबाट १० अंक रहेको छ । समान खेलबाटै गेटाफे र क्याडिजको पनि १० अंक पुगेको छ । तर, गोलअन्तरमा गेटाफे र क्याडिज क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS