काठमाडौं, १५ मङ्सिर – लुम्बिनी बौद्ध विश्वविद्यालयले १६ औं स्थापना दिवस लुम्बिनीमा मनाएको छ । विश्वविद्यालय २०६१ सालमा स्थापना भएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विश्व शान्तिका लागि बौद्ध दर्शन, साहित्य महत्वपूर्ण रहेको र यसलाई जनमानसमा फैलाउने काम विश्वविद्यालयले गरेको बताए ।
बुद्धका शिक्षा पालनाबाटै सबैको हित र मुलुकको समृद्धि हुने बताए । शान्ति विना मानव जीवनको कल्पना गर्न नसकिने भन्दै दर्शनलाई विश्वभर फैलाउँदै लैजानु र अनुकरण गर्नुको विकल्प नभएको उनले बताए । बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको प्रचार, पठनपाठन र अनुसन्धानबाट विश्व शान्तिको सन्देश फैलाउँदै विद्यार्थीको उन्नत भविष्य निर्धारण गर्नुपर्ने उनले बताए ।
सो अवसरमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले बौद्ध दर्शनको विकासका लागि विश्वविद्यालयले योगदान गरिरहेको भन्दै यसको उन्नतिका लागि विकास कोष सहकार्य गर्न तयार रहेको बताए ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फखरुद्धिन खानले विश्वविद्यालयले पूर्वाधारका कामहरू गरेकोमा प्रशंसा गरे । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले विश्वविद्यालयलाई ठूलो मेहनतबाट यहाँसम्म पुर्याउन सकिएको भन्दै यसलाई विश्वकै नमूनाका रूपमा स्थापित गर्नुपर्ने बताए ।
पूर्व उपकूलपति प्रा.डा. नरेशमान बज्राचार्यले बौद्ध अध्ययन र अनुसन्धानलाई केन्द्रमा राखेर यसको गुरुयोजना निर्माण गरिएको बताए । विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको मूल मर्म बौद्ध दर्शनको अध्ययन र अनुसन्धान नै रहेको भन्दै अहिलेको पुस्ताका लागि आवश्यक हुने विषयहरू समेत चलाएर लगिने बताए ।
विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले १६ वर्षको अवधिमा विश्वविद्यालय यो अवस्थामा पुगेको बताए ।
‘बौद्ध धर्म दर्शनसहित अरु विषय पनि पढाउने गरी ऐन संशोधन भएको छ, अब सरकारको अंगका रूपमा पनि आएका छौं,’ उनले भने । विश्वविद्यालयमा लुम्बिनीमै मात्रै राख्नुपर्छ भन्ने जोड भइरहे पनि विश्वविद्यालयको सेवा विस्तारका लागि केही विषय अन्यत्र पनि लैजान जरुरी हुने बताए । ५ जना विद्यार्थी र शिक्षक नहुने विश्वविद्यालयमा अहिले सयौं विद्यार्थी र शिक्षकहरू आएको भन्दै यसलाई अझै फैलाउन सबैको सहयोग आवश्यक हुने बताए ।
विश्वविद्यालयका डीन डा. माणिकरत्न शाक्यले विश्वविद्यालयका शैक्षिक गतिविधिबारे जानकारी गराए । उनले शैक्षिक गुरुयोजना अनुरुप विश्वविद्यालयले काम गरिरहेको बताए ।
सो अवसरमा विश्वविद्यालयका विभिन्न संकायमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थी कल्याणकारी परिषद्ले प्रकाशन गरेको ‘कल्याणमित्र’ नामक पुस्तकको विमोचन समेत गरिएको थियो । सो अवसरमा बोल्दै स्मारिकाका सम्पादक एवं परिषद्का सहसचिव नरेश केसीले पठनपाठनका लागि सहयोग हुने गरी स्मारिका प्रकाशन गरिएको बताए ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्रमुख फणिन्द्र कुमार न्यौपानेको कार्यक्रमको सञ्चालन गरेका थिए ।
FACEBOOK COMMENTS