काठमाडौं, ०७ मंसिर – सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जुनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबार मात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उनका अनुसार कूल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दा मात्रै लिए हुने खालको रहेको रहेको उनले जानकारी दिए।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिरकणले त्यहाँको नोडल एजेन्सी एनभिभिएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ ।
विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकाले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई समेत प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ । पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।
FACEBOOK COMMENTS