काठमाडौं, जेठ १६ – वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणसँगै स्वास्थ्यमा जटिल बन्दै गएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । अस्पतालमा उपचाररत श्रेष्ठको अवस्था अहिले सामान्य बन्दै गएको संगीतकार लक्ष्मण शेषले जानकारी दिए ।
श्रेष्ठको अक्सिजन लेभल कम हुनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले अक्सिजन लेभल बृद्धि हुनुका साथै स्वास्थ्यमा पनि सुधार हुँदै गएको शेषले जानकारी दिए । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचसमेत रहेका श्रेष्ठलाई कोरोना संक्रमण भएको ‘द भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमा पनि राखिएको छ ।
शोका कोच प्रमोद खरेल तथा तृष्णा गुरुङलाई पनि कोरोना संक्रमण भएको थियो । हाल उनीहरु भने संक्रमणमुक्त भइसकेका छन् । शोका कोचहरुमा नै कोरोना संक्रमण देखिएपछि गत सातादेखि ‘द भ्वाइस अफ नेपाल’को प्रसारण बन्द भएको छ
FACEBOOK COMMENTS