काठमाडौं, कात्तिक १८ – नारायणगोपाल र गोपाल योञ्जनका समकालीन संगीतकार उदयशमशेर राणाको सोमबार निधन भएको छ। ७४ वर्षीय राणा पत्नी विजयासँगै अमेरिकाको सियाटल बस्दै आएका थिए।
उनको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्र, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डेलगायत गायकले आधुनिक गीत गाएका छन्। उनी नारायणगोपाल र गोपाल योञ्जनको सांगीतिक कार्यक्रम ‘मीतज्यू नाइट’का एक वाद्यवादक पनि रहेको प्रकाश सायमीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।
उनका ओम गुरुङले गाएको ‘पहिलो भेट मीठो याद हुन्छ’, ओमविक्रम विष्टले गाएको ‘भन्नै सकिन मनका कुरा’, उदितनारायण झा र मिरा राणाले गाएको ‘किन किन देखेर तिमीलाई बोलुबोलु’ जस्ता गीत चर्चित थिए। नारायणगोपालका भाइ हेमगोपालले गाएका धेरै गीतमा उनले संगीत गरेका थिए। ‘खुसी नै खुसी चाहेँ’ गीत चर्चित थियो।
प्रेमध्वज प्रधानका शुरुआती चरणका गीतमा उनैले संगीत संयोजन गरेका थिए। उनी लामो समय काठमाडौँको ढल्कोमा संगीत सिकाएर बसेका थिए। करीब एक दशकदेखि उनी अमेरिका बस्दै आएका थिए। उनका उनका दुई छोरा र एक छोरी छन्।