काठमाडौँ – नेपाल वायु सेवा निगमले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमान सञ्चालनको अनुमति प्रमाण पाएको छ ।
निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि शुक्रबार अनुपति पाएको हो ।
निगमले करीब आठ महिनाअघि दुई वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।
नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई अनुमति दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको निगमका प्रवक्ताले उल्लेख गरे । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ ।
निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ ।
त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुबै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् ।
रासस
FACEBOOK COMMENTS