काठमाण्डौँ — प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरीद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी कारवाहीका गर्न निर्देशन दिएको हो ।
उपसिमितले तयार पारेको प्रतिवेदनले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उनलाई सफाई दिने उल्लेख गरेको छ।
संशोधनमा निगमका महाप्रबन्धकले गलत सूचना दिएका कारण उनलाई कारवाहिको सिफारिस गरिएपनि पछि प्रेमकुमार राईले दिएका सबै सूचनाका आधारमा विमान खरिद प्रकरणमा उनको कुनै संलग्नता नरहेको देखिएको बताइएको छ।
यस्तै उपसमिति प्रतिवदेनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले कारबाही सिफारिस गरिएकोमा त्यसमा संशोधन गर्दै कानुन सम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिने उल्लेख गरिएको छ ।
समितिको सोमबार बसेको बैठकले अनियमितता छानबिन उपसमितिको प्रतिदेनका आधारमा कारबाही बढाउन निर्देशन दिएको हो।
समितिले निगम सञ्चालक समितिका सदस्य सचिव तथा महाप्रबन्धक भई पुरानो विमान खरिद गर्ने प्रक्रिया बढाइ प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ।
— कान्तिपुर
FACEBOOK COMMENTS