डेढ अर्ब उठायो कोषले, चार अर्ब डुब्दै व्यापारीको
काठमाडौं– काठमाडौं मलको विषय झन्झन् जटिल बन्दै गएको छ । काठमाडौं मलका व्यापारीहरुले विचौलियाबाट पिडित भएको भन्दै सञ्चयकोषलाई नै मलको व्यवस्थापन गर्न आग्रह गरेका थिए । विचौलिया मार्फत् व्यक्तिगत फाइदा लिइरहेका कोषका अधिकारीहरु मलका व्यवसायीको यो कदम विरुद्ध निर्मम भएर प्रस्तुत हुन थालेका छन् ।
मलको व्यवस्थापन सही ढंगले गरेर यसबाट आउने बहाल सवै राज्यकोषमै जाओस् भन्ने चाहना राख्ने व्यापारीहरुलाई नै विचल्ली पार्नेतर्फ सञ्चय कोषका पदाधिकारी अघि बढेका छन् ।
द काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराको नेतृत्वमा व्यवसायीले संघर्ष गर्दै कोषको मल भाडामा लिएर व्यापारीलाई आजित पार्ने विचौलियाबाट मुक्ति दिलाएका थिए । सञ्चय कोषको व्यवस्थापनमै चल्ने एक हदसम्मको बाटो पहिल्याएका थिए ।
सञ्चयकोष आफैं व्यवस्थापनका लागि आएपछि हट्ने ठानिएको व्यवसायिक असुरक्षा फेरि बढेको छ । किनभने वर्षौंदेखि नियमानुसार भाडा तिरेर व्यवसाय गर्दै आइरहेका व्यापारीहरुलाई विनाकारण हटाउने प्रपञ्चमा कोषका कर्मचारी लागेका छन् । मलका विचौलियाको प्रलोभन उनीहरु व्यापारीलाई अप्ठ्यारोमा पाराले लाभ उठाउने मनशायमा लागेको बुझिएको छ ।
‘मल व्यवस्थापनका लागि सञ्चय कोष आफैं आएपछि ढुक्क भएर व्यापार व्यवसाय गर्न सकिने सोचिरहेका थियौं । तर, कोषका केही कर्मचारीहरुले चलखेल गरेर हामीलाई अन्यायमा पारिँदैछ,’ संघकी अध्यक्ष सुष्मा महराले भनिन् ।
सञ्चयकोषले नै व्यपारिक मल भनेर व्यवसायीलाई बोलाएपछि व्यवसायका न्युनतम मूल्य मान्यता पालना गर्नुपर्ने उनले बताइन् ।
महराका अनुसार कर्मचारी सञ्चयकोष सुन्धारा भवन काठमाडौं मल सञ्चालनमा ल्याएयता उसले ब्यवसायीवाट १ अर्व ६६ करोड भन्दामाथि असुलीसकेको छ ।
यति धेरै रकम असुल गरिसक्दा पनि उचित ब्यवस्थापन गर्न नसकेको कोषले ४ अर्व भन्दा ज्यादा लगानि गरेर बसिरहेका तीन सय व्यापारीलाई बिचल्ली पार्न खोजेको महराले बताइन् । उनले भनिन्, ‘यत्रा व्यवसायी र तीन हजार भन्दा बढी कर्मचारीको रोजीरोटीमाथि खेलबाड गर्नु ज्यादति हो ।’
यसअघि टेन्डर मार्फत् १५ वर्ष भाडामा लिने भनेर ठेकेदार आएपछि व्यवसायीले त्यही अनुसारको प्लान बनाएका थिए । तत्काल फाइदा नभएपनि १५ वर्षमा आफ्नो लगानी उठाउन सकिने भन्दै जायजेथा बैंकमा राखेर व्यवसाय सञ्चालन गरिरहेका छन् । तर, बिचैमा ठेकेदारले हात झिक्दै सञ्चय कोषले व्यवसायीलाई उठाउने तयारी गर्नु न्यायसंगत नभएको महरा बताउँछन् । उनी भन्छिन्, ‘अब हामीसँग दुईटा विकल्प छ । कि कोष विरुद्ध संघर्ष गरेर मर्ने कि आत्महत्या गर्ने । हामी पहिलो विकल्प रोज्छौं । आफ्नो कमिसनका लागि व्यापारीको विचल्ली बनाउन खोज्ने कोषका कर्मचारीको पहिचान गरेर कठघरामा उभ्याउँछौं ।’
पहिलो चरणको आन्दोलन अन्तर्गत आमरण अनसन थाल्ने घोषणा संघकी अध्यक्ष महराले गरेकी छिन् । उनले भनिन्, ‘हामी तीन हजार कर्मचारी र तीन सय व्यापारी एकबद्ध भएर आन्दोलनमा उत्रिन्छौं । त्यसका लागि सुरुवात आफैंबाट गर्छु ।’
सरकारले देशमै उद्यमशिलता बढाएर समृद्धिको सपना अघि सारिरहेका बेला कर्मचारीहरुले भएका समेत ध्वस्त पार्नेतर्फ लागिरहेको प्रति उनले आक्रोश पोखिन् । व्यवसायीको चार अर्ब डुब्न नदिने राजनीतिक लबिङ समेत गरेर व्यक्तिगत लाभ लिने मनशाय भएका कर्मचारीहरुको असलीयत बाहिर ल्याउने संकेत गरिन् । उनले भनिन्, ‘हामीले व्यवसाय गरेर खान पनि नपाउने अवस्था सिर्जना हुँदा राज्यको ध्यान जानुपर्छ । त्यसका लागि हामी जुनसुकै मूल्य चुकाउन तयार छौं ।’
FACEBOOK COMMENTS