काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताएका छन् । धितोपत्र बजार सम्बन्धमा विभिन्न नियामकीय व्यवस्थाहरु गरिएको उनले बताए ।
पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रममा उनले बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सोलाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए ।
‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु,’ उनले भने, ‘यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ । ’
कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पुँजी बजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रण आवश्यक रहेको बताए ।
कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।
FACEBOOK COMMENTS