काठमाडौँ — वित्तीय क्षेत्रको वास्तविक अवस्था अध्ययन गरी सुझाव पेस गर्न गठित समिति (कार्यदल) को प्रतिवेदनमा बिमा र सहकारी क्षेत्र पनि समेटिने भएका छन् ।
सुरुमा बैंकिङ र पुँजी बजारको वास्तविक अवस्था अध्ययन गर्ने कार्यादेश पाएको समितिलाई पछि बिमा र सहकारी पनि थप्न निर्देशन आएपछि ती क्षेत्र प्रतिवेदनमा समेटिने भएको हो ।
बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो ब्याजदर र घट्दो पुँजी बजारको वास्तविक अवस्था अध्ययन गर्न अघिल्लो बिहीबार राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा एक समिति गठन भएको थियो ।
अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा बसेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकले उक्त समिति गठन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।
खासगरी सेयर बजारमा सुधार र ब्याजदर वाञ्छित सीमामा राख्नका लागि तत्काल चाल्नुपर्ने सुझाव पेस गर्न समितिलाई निर्देशन थियो ।
यही क्रममा बिमा र सहकारी क्षेत्रले पनि बैंकको ब्याजदर र सेयर बजार प्रभावित पार्न सक्ने कुरा आएपछि तीनको पनि अध्ययन गर्न भनिएको छ ।
यसका लागि समितिलाई यसअघि दिएको समय अवधि पनि बढाएर बुधबारसम्म पुर्याइएको छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS