काठमाडौं,मंसिर २१- त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको जवाफ मागेको छ ।
तर, विश्वविद्यालयले अनुदान आयोगको पत्रलाई ‘रेस्पोन्स’ गर्न आवश्यक ठानेको देखिँदैन ।
त्रिविले स्नातकोत्तर तह फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा पटकपटक उजुरी परे पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
विश्वविद्यालय अनुदान आयोगले सोधेको प्रश्नको जवाफ दिन त्रिभुवन विश्वविद्यालयले अटेर गर्दै आएको आयोगका सदस्यसचिव देवराज अधिकारी स्विकार्छन् । उनले भने, ‘क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधेको सन्दर्भमा उजुरी परेपछि हामीले विश्वविद्यालयसँग जवाफ मागेका छौं । तर, अहिलेसम्म जवाफ आएको छैन ।’
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयलाई तत्काल समस्या समाधान गर्न भन्दै निर्देशन दिए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।
त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीन कार्यालयले फिजिक्सअन्तर्गत सेमेस्टर प्रणालीमा सञ्चालित क्वान्टम मेकानिक्स आईको पहिलो सेमेस्टरमा कोर्सभन्दा बाहिरको प्रश्न सोधेपछि ३५ जना विद्यार्थीले परीक्षा बहिष्कार गरेका थिए । सो पत्रको बोधार्थ शिक्षा मन्त्रालयलाई समेत पठाइएको छ ।
परीक्षामा ४७ जना विद्यार्थी मात्र सहभागी भएपछि परीक्षा स्थगित गर्न माग गरिएको थियो । स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको प्रश्नमा कुल ४५ पूर्णाङ्कमा ३५ अंक पाठ्यक्रम बाहिरबाट आएको र प्रश्नपत्र बाँडेर पुनः फिर्ता लिइएको अवस्थामा परीक्षा पुनः सञ्चालन गरिएपछि विवाद बनेको हो । पाठ्यक्रम बाहिरको प्रश्न रहेको र प्रश्नपत्र एकपटक बाहिर ल्याएर पुनः सोही प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिनु ‘गैरकानुनी’ रहेको विद्यार्थीको दाबी छ । सो विषयमा रायसुझाव पेस गर्न बनेको समितिलाई भने त्रिविले आलटार गरेर कोर्सबाट नै प्रश्न सोधिएको जवाफ दिएको थियो ।
२९ पुस २०७५ मा स्नातकोत्तर तह प्रथम सेमेस्टरको क्वान्टम मेकानिक्सको पुरानो पाठ्यक्रमको परीक्षा लिइएको थियो । परीक्षाफल ११ वैशाख २०७६ मा प्रकाशित गरिसकिएको छ ।
प्रश्नपत्र बाहिरबाट सोधेको भन्दै पीडित विद्यार्थीहरूले सतर्कता केन्द्र, शिक्षा मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय विश्वविद्यालय अनुदान आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग, त्रिविको उपकुलपति कार्यालयमा उजुरी दिएका छन् । परीक्षाको गोपनीयता भंग भएको, परीक्षाको परिणाम फेरबदल गरेको र प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिबाटै झुटो राय आएको विषयमा उजुरी परेको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रले त्रिवि डीन कार्यालयसँग सो विषयमा जानकारी लिइरहेको समयमा नै डीन कार्यालयले परीक्षाफल प्रकाशन गरेको थियो । शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले गठन गरेको छानबिन समितिको प्रतिवेदनले ४५ पूर्णाङ्कमा २५ अंकको प्रश्नमा अथवा समेटिएर र पाँच अंकको छ÷छैन दुवै अर्थ लाग्ने खालको प्रश्न सोधिएको र नयाँ कोर्सको हकमा सबै प्रश्न पाठ्यक्रमभित्रैबाट समेटिएको निष्कर्ष निकालेको थियो । पीडित विद्यार्थी आशिष पौडेलले प्रश्नपत्र पाठ्यक्रमबाट बाहिरिनुमा विश्वविद्यालयको गम्भीर लापर्बाही भएको बताए । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS