काठमाडौं, फागुन २५ – धनुषाको एक विद्यालयमा जन्ती राखेपछि विद्यार्थीहरु चर्को घाममा रुखमुनि बसेर पढेको घटना बाहिरीएको छ ।
मंगलबार मिथिला बिहारी नगरपालिका ३ का मिथिलेश्वर मौवाही माविमा जन्ती राखिएपछि विद्यार्थीहरुलाई रुखमुनि बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।
विद्यालयका प्राधानाध्यापक लालबाबु यादवले अनुमतिविना विद्यालयमा जन्ती राखेको दाबी गरे । तर, अर्को पटक थप जानकारी लिँन खोज्दा गाउँलेको सहमतिमा विद्यालयमा जन्ती राखेको प्रतिक्रिया दिए ।
‘दुई साता पहिले अनुमति लिँन आएपछि हामीले विद्यालयमा जन्ती राख्न नपाउने भनेका थियौं,’उनले भने, ‘सोमबार नारी दिवसको अवसरमा विद्यालय छुट्टी रहेको हुनाले हामीलाई जानकारी भएन । मंगलबार विद्यार्थीहरु पुग्दा विद्यालयमा जन्ती बसेका थिए । तर हामीले तुरुन्तै खाली गराएका थियौं ।’
कसको छोरीको विवाह थियो त्यो विषयमा जानकारी नभएको भन्दै अन्य सूचना दिनबाट उनी पञ्छिए । यता, नगर प्रमुख अनिल कुमार यादवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।
‘हामीले विद्यालयमा पठनपाठन बाहेक कुनै पनि काम नगर्ने निर्देशन दिएका छौं,’उनले भने, ‘अन्य काम गर्नको लागि पालिकाले सबै ठाउँमा सार्वजनिक भवन बनाएको छ । यो विषयमा बुझ्दै छौं ।’
नगर शिक्षा शाखा प्रमुख रिमा झाले आँफू विदामा रहेको भन्दै कुनै जानकारी नरहेको बताइन् ।
FACEBOOK COMMENTS