काठमाडौं । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालि अन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो ।
कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार एसेम्बल प्लान्टमा सिचुवानको ४७ प्रतिशत, सेकको ४६ प्रतिशत र सुन्दरको ७ प्रतिशत लगानी रहनेछ ।
सुन्दरले २०७६ को मङ्सिरमै एक कार्यक्रमका बीच यी दुईओटा कम्पनीसँग एसेम्बल प्लान्ट स्थापनाका लागि सम्झौता भएको बताएको थियो । त्यसैअनुसार अघिल्लो वर्ष वैशाखदेखि प्लान्ट स्थापनाको तयारी गर्ने बताए पनि निषेधाज्ञाका कारण काम अघि बढ्न नसकेको कम्पनीका अध्यक्ष थापाले बताए ।
उनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि शुरूमा ३ अर्ब ६० करोड लगानी गरिँदै छ । त्यसपछि क्रमशः लगानी थप्दै जाने तयारी छ । पहिलो वर्ष १ सय, दोस्रो वर्ष ३ सय सवारीसाधन एसेम्बल गरेर तेस्रो वर्ष वार्षिक १ हजारओटा सवारीसाधन एसेम्बल गर्ने तयारी गरिएको उनले बताए ।
‘अबको १५ दिनभित्र शिलान्यास गर्ने योजना छ,’ उनले भने, ‘शिलान्यासका लागि प्रधानमन्त्रीलाई प्रमुख अतिथिका लागि निवेदन दिएका छौं ।’ साउनभित्र शिलान्यास गरिसकेर काम शुरू गर्ने र आगामी आर्थिक वर्ष २०७८÷७९ भित्र सय सवारी एसेम्बल गरिसक्ने तयारी गरेको उनले जानकारी दिए । उनका अनुसार एसेम्बल प्लान्ट स्थापनाका लागि सैनामैना नगरपालिकाले ८ बिगाहा १० कट्ठा जग्गा दिने भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS