काठमाडौं, माघ ९- सरकारले साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले साझा यातायातले सरकारले भनेको प्रक्रिया अनुसार बस खरिद नगरेकाले ३ अर्ब रुपैयाँ लगानी फिर्ता ल्याउने निर्णय गरेको जानकारी दिए ।
सरकारले २०७६ असार २४ र २९ गतेको निर्णय अनुसार साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि शेयरबापत ३ अर्ब रुपैयाँ लगानी गरी पैसा दिइएको थियो । शेयर लगानी गरेको मितिदेखि हालसम्मको व्याजसहित फिर्ता गर्न निर्णय भएको उनले बताए।
साझा यातायातले सो समयमै काम गर्न नसकेपछि त्यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ ।
FACEBOOK COMMENTS