विद्युत्मा भारतीय निर्भरता तीन गुणा बढयो काठमाण्डौँ — सरकारले विद्युत् उत्पादनका लागि सयौं अनुमतिपत्र जारी गरेको भए पनि एक दशकमा विद्युत्मा भारतमाथिको निर्भरता तीन गुणाले बढेको छ ।
सन् २००९ मा भारतबाट कुल ३ सय ५६ गिगावाट आवर आयात गरिएको थियो ।
सन् २०१८ मा भारतबाट कुल २ हजार ५ सय ८१ गिगावाट आवर विद्युत् आयात हुने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण छ ।
अघिल्लो वर्ष ६ हजार २ सय ५८ गिगावट आवर विद्युत् खपत भएको थियो ।
त्यसमध्ये २ हजार १ सय ७५ गिगावाट आवर भारतबाट आयात गरिएको थियो ।
यो वर्ष खपत ७ हजार ५८ गिगावाट आवर पुग्ने प्राधिकरणको आकलन छ ।
६ हजार मेगावाटभन्दा बढी जडित क्षमता भएका १ सय ८८ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि अनुमतिपत्र पाएका छन् ।
विद्युत् विकास विभागले अहिलेसम्म १३ हजार मेगावाटभन्दा बढी क्षमताका ३६ वटा विद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्रदान गरेको छ ।
यो सूचीमा एक सय मेगावाटभन्दा बढी जडित क्षमता भएका जलविद्युत् आयोजना मात्रै समावेश छन् ।
जलविद्युत् उत्पादनका लागि धेरै आयोजना निर्माण र अध्ययनको चरणमा भए पनि एक दशकको अवधिमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका विद्युत् आयोजनाबाट साढे चार सय गिगावाट आवर विद्युत् थपिएको छ ।
सन् २००९ यता स्वतन्त्र ऊर्जा उत्पादकहरूले भने एक हजार गिगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने आयोजनाहरू निर्माण गरिसकेका छन् ।
२००९ मा स्वतन्त्र ऊर्जा उत्पादकहरूबाट वार्षिक ९ सय २६ गिगावाट आवर विद्युत् खरिद गरेको प्राधिकरणले यो वर्ष २ हजार १ सय ६७ गिगावाट आवर विद्युत् खरिद गर्ने अनुमान गरेको छ ।
भारतीय निर्भरता बढे पनि जलविद्युत्मा नेपालको भविष्य भने आशालाग्दो छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS