काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न सक्ने प्रविधि भित्र्याएको छ ।
प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ ।
विद्युतका ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ ।
प्राधिकरणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिए। उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण केन्द्र मातहत रहेका ३६२ ग्राहकको घर, कार्यालयमा जडान भएको छ ।
इन्टरनेट सञ्जालबाट सहजै रुपमा ग्राहकको जानकारी लिन, कति विद्युत् प्रयोग भयो थाहा पाउन, मिटर बन्द गर्न र खोल्नसमेत सो प्रविधिमा व्यवस्था रहेको छ ।
पछिल्लो दिनमा स्मार्ट मिटरको अवधारणा अगाडि सारेको प्राधिकरणले सोही उद्देश्यलाई कार्यान्वयनमा ल्याउन थालेको हो । रासस
FACEBOOK COMMENTS