काठमाडौं – नेपालमा विमान कम्पनी र विमानको सङ्ख्या बढ्दै गएपछि पाइटलको अभाव देखिएको छ ।
नेपाल वायुसेवा निगमले आफूसँग भएका विभिन्न किसिमका विमानका लागि पटकपटक पाइलटको माग गरे पनि आवश्यकताअनुरूप दरखास्त नआएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
‘अन्य क्षेत्रमा ४०–५० जनाको जनशक्ति आवश्यक भएको विज्ञापन निस्किँदा हजारौंको दरखास्त आउँछ, तर यो क्षेत्रमा विज्ञापन गरिएको सङ्ख्याको एकतिहाइ पनि नआउने र आएकामध्ये पनि कतिपय योग्यता नपुगेका छन्,’ उनले भने ।
पाइलटको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बढी तलब दिएरै भए पनि एउटा कम्पनीको पाइलट अर्कोले लिने गरेका छन् ।
निगमसँग भएका १३ ओटा विमानका लागि १ सय १६ जना पाइलट र कोपाइलट आवश्यक भए पनि निगमसँग हाल ८८ जना मात्र पाइलट तथा कोपाइलट रहेको कंसाकारले जानकारी दिए ।
निगमले एउटा एयर बस ३३०–२२० ल्याइसकेको र अर्को आउने प्रक्रियामा रहेकाले थप २८ पाइलट तत्काल आवश्यक भएको उनको भनाइ छ । पाइलट अभाव भएकाले विदेशी पाइटल ल्याउनुको विकल्प नभएको कंसाकारले बताए ।
FACEBOOK COMMENTS