काठमाडौं, कात्तिक १९ – विराटनगर महानगरपालिकाले कोरोना संक्रमित संक्रमणमुक्त भएको सिफारिस बनाउँदा ५०० रुपैयाँ शुल्क लिने गरेको छ । घरमै बसेर कोरोना संक्रमण मुक्त भएकाहरुलाई होम आइसोलेसनमा बसेको प्रमाणित गर्न शुल्क लिन थालेको हो ।
संक्रमणमुक्त भएको सिफारिसका लागि महानगरपालिकाले ५०० रुपैयाँ शुल्क र निवेदन दस्तुरका रुपमा १० रुपैयाँ लिन थालेको हो । महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण मुक्त भएको सिफारिस गर्दा शुल्क लिएको थिएन । तर पछिल्लो समय शुल्क लिन थालेको हो ।
यसरी सिफरिस बनाउन जानेहरु अधिकांश बिमा दाबी गर्नेहरु रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । बिमा प्रयोजनका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताए ।
उनका अनुसार होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’ मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ शुल्क संकलन गरेको हो ।
FACEBOOK COMMENTS