हेटौंडा,फागुन १३- हेटौंडा उपमहानगरपालिका—१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन्।
१ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ्ना विवाहित छोरीलाई पनि अंश दिएका छन्। उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ।
२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बनाए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हेटौंडाका नागरिक भने नमुना बनेका छन्।
हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन। उजुरी नै दिए पनि छोरीलाई अंश दिलाउने कानुनहरू यसअघि पर्याप्त नभएको सम्बद्ध विज्ञहरूको भनाइ छ। कानुनमा जे लेखिए पनि स्थानीय अभिभावकले छोरीहरूलाई स्वतःस्फूर्त अंश दिएर सम्मान जनाएका छन्।
हेटौंडा—१४ का धनबहादुर तामाङका दुई छोरा र चार छोरी छन्। छोरासरह विवाह गरेका छोरीलाई उहाँले अंश दिनुभएको छ। गाउँका कृष्णबहादुर रुम्बाका दुई छोरा र दुई छोरी छन्। दुई छोरीलाई उहाँले पनि अंशबापत जग्गा दिनुभएको छ। रामबहादुर रुम्बाले पनि विवाह गरेका दुई छोरीलाई अंश दिनुभएको छ।
उक्त बस्तीका रुम्बा र तामाङले मात्र होइन, अधिकांशले बिहे गरेर आफ्नो घरजम गरेका छोरीलाई पनि अंश दिने गरेका छन्। त्यति मात्र नभएर, सम्पत्ति धेरै नभएकाले छोराहरूलाई अंश दिइसके पनि आमाबुबाको जिउनी भाग बेचेर केही पैसा छोरीलाई दिने गरेका छन्।
‘छोरी पनि सन्तान हुन्। उनीहरूलाई पनि अंश दिनुपर्छ भनेर अंश भाग जग्गा दिएको हुँ।’ –कृष्णबहादुरले भन्नुभयो। छोराछोरी एउटै भएकाले छोराले अंश पाउने तर छोरीले किन नपाउने भनेर अंश दिइएको उहाँले स्पष्ट पार्नुभयो।

छोराछोरी दुवै बराबरी भएको र आफू नसक्ने बेलामा छोराछोरी दुवैले हेर्नुपरेको हुँदा छोरीलाई पनि अंश दिइएको उहाँले बताउनुभयो। उहाँहरूले छोरासँग सल्लाह गरेर छोरीलाई अंश दिने गर्नुभएको हो। दाजुभाइले आमाबुबाको उक्त विचार काट्ने गरेका छैनन्। आजको नेपाल समाचारपत्रमा समाचार छ ।
