काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले सिप मेलाका लागि काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताएकी छन् ।
बिहिबार सीप मेलाको अवलोकन गर्दै उनले तेस्रो संस्करणमा विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) का क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएकी हुन् ।
महानगरले गएको वर्षमा सञ्चालन गरिएका तालिममा यस वर्ष नयाँ क्षेत्रका रुपमा विशेष क्षमता सहयोगी तालिम थप गरेर सञ्चालन गरिरहेको छ । यसअन्तर्गत हाउस किपिङ् र केयर सर्भिस गरी २ वटा पेशाका तालिम चलिरहेका छन् । यस्तै हाउस किपिङ् बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो ।
मेलाको अवलोकन गराउँदै कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले प्रशिक्षार्थीहरुको अपेक्षाका बारेमा जानकारी गराउँदै भने, ‘रोजगारमा आवद्ध हुन चाहने, स्वरोजगारमा आवद्ध हुन चाहने, रोजगार तथा स्वरोजगारमा क्षमता बढाएर वृत्ति विकासमा सहयोग लिने र जीवनशैलीलाई सिपयुक्त बनाउने गरी ४ प्रकारका सोचबाट प्रशिक्षार्थी तालिममा सहभागी हुनुभएको हामीले पाएका छौँ ।’
अवलोकनका क्रममा राजदूत जोन्स्टनले फेसन डिजाइनका प्रशिक्षार्थीहरुसँग तपाईँहरु आपसमा मिलेर व्यवसाय सुरु गर्ने सम्भावना कस्तो छ भनेर प्रश्न गरेकी थिइन् । यसमा प्रशिक्षार्थीहरुले सम्भावना प्रवल रहेको प्रतिक्रिया दिइन् । यस्तै कृतिम कपाल बनाउने प्रशिक्षार्थीहरुलाई प्रोत्साहन दिँदै भनिन्- ‘यो सिप विशिष्ट प्रकारको हो । एकातिर व्यवसाय चल्छ । अर्कोतिर, क्यान्सर जस्ता दीर्घ रोग लागेर कपाल गुमाउनु परेका व्यक्तिहरुलाई आत्मसम्मान पनि दिन्छ । यसकारण यो सिप पेशा मात्र होइन । सेवा पनि हो ।’
अवलोकनका क्रममा उनले साइवर सेक्युरिटी कक्षामा इथिकल ह्याकिङ्क कसरी हुन्छ? र, यसबाट कसरी बच्ने भन्ने प्रदर्शन रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।
FACEBOOK COMMENTS