भियना- तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक)ले तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने घोषणा गरेको छ ।
ओपेक सदस्य राष्ट्रका इन्धनमन्त्रीहरूको बैठकले कच्चा तेलको परिमाण जनवरी १ देखि कटौती गर्ने जानकारी दिएको हो ।
यसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ ।
ओपेक राष्ट्रहरूले सहमतिपछि तेल उत्पादनमा प्रतिदिन ८ लाख ब्यारेल कटौती गर्नेछन् भने ओपेकका सदस्य नरहेका राष्ट्रहरूले चार लाख ब्यारेल कम तेल उत्पादन गर्ने सहमति भएको जनाइएको छ ।
विश्वको तेल उत्पादनको झण्डै आधा बजार ओगटेका ओपेक र यसका साझेदार राष्ट्रहरूले विगत दुई महिनामा कच्चा तेलको मूल्यमा ३० प्रतिशतभन्दा बढी गिरावट आएपछि यसबाट राहत पाउनका लागि उक्त सहमति गरेको बताएका छन् ।
भेनेजुएला र इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको र लिबियामा निरन्तरको द्वन्द्वका कारण उत्पादनमा निरन्तरता नभएकाले उनीहरूमाथि सहमति बाध्यकारी नहुने बताइएको छ ।
तेल उत्पादनका हिसाबले विश्वकै दोस्रो मुलुक रूसी इन्धनमन्त्री अलेक्जेन्डर नोभाकले भने, ‘छलफल निकै ‘जटिल’ भएको महसुस सहमतिले बजारलाई सन्तुलनमा लान सहयोग गर्नेछ ।’ कच्चा तेलको मूल्यमा यूरोपेली मापदण्डअनुसार शुक्रबार प्रतिब्यारेल ६२.७ डलरबाट ४.४३ प्रतिशतले वृद्धि भएको देखिएको छ । यद्यपि यो सन्तोषप्रद भने अझै नभएको ओपेक सदस्य राष्ट्रहरूको भनाइ छ । एजेन्सी
FACEBOOK COMMENTS