काठमाडौँ — विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र बिक्री गर्नेलाई अब ५ वर्षसम्म कैद हुने भएको छ ।
सरकारले मंगलबार संसद्मा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानि पुर्याउनेलाई कारबाही व्यवस्था गरिएको हो ।
यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेले छुट पाउँदै आएका थिए ।
उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु उत्पादन वा बिक्री गरेमा समेत जेल र जरिवाना दुवै हुन सक्ने प्रावधान विधेयकमा राखिएको छ ।
झूटो वा भ्रमपूर्ण विज्ञापन गरेर वस्तुको बिक्री गरेमा, वास्तविक लागतको आधारभन्दा बढी मूल्य निर्धारण गर्ने, नक्कली वस्तुको उत्पादन, पैठारी र बिक्री गरेमा तोकिएको व्यापारिक तहभन्दा बढी तह वा शृंखला खडा गरी बिक्री गरेमा र मापदण्ड पूरा नगरी बिक्री गरेमा २ वर्षदेखि ५ वर्षसम्म कैद वा ४ लाखदेखि ६ लाखसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान राखिएको छ ।
यस्तै उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु र सेवा प्रदान गर्न अनुगमनलाई चुस्त बनाउने गरी विधेयक ल्याएको सरकारले जनाएको छ ।
उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने केन्द्रीय बजार अनुगमन समिति गठन गरिनेछ ।
त्यस्तै बजारको स्थलगत अनुगमन गर्न गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखको संयोजकत्वमा स्थानीय बजार अनुगमन समितिसमेत गठन गर्न सक्ने व्यवस्था विधेयकमा छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS