काठमाडौं, भदौं ८ – डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार साँझ च्याउ खाएका थिए ।
बिहान ७ बजे बिरामी भएको खबर भएपछि स्थानीय तहको समन्वयमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको बताए । ‘चारैजनाको अवस्था सिकिस्त छ, अब केही बेरमा हेलिकोप्टरबाट नेपालगन्ज पुर्याएर उपचार गरिनेछ,’ उनले भने, ‘पाटनबाट दुनै ल्याउन ६–७ घण्टा लाग्ने भएकोले हेलिकोप्टर मगाइएको हो ।’
यसअघि साउन पहिलो साता जाजरकोटमा विषालु च्याउ खाएर ५ जनाको मृत्यु भएको थियो । हेलिकोप्टरबाट सुर्खेत ल्याइएका तीन जना उपचारपछि निको भएका छन् ।
FACEBOOK COMMENTS