काठमाडौं, मंसिर २१ – वीरगञ्ज उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित संघका पदाधिकारीहरूलाई सम्मानित गरेको छ ।
संघका अध्यक्ष गोपाल केडिया र नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्तालाई सम्मानित गरिएको हो ।
सो अवसरमा केडियाले पर्सा–बारामा सञ्चालित उद्योग, व्यवसायको समस्यालाई साझा समस्याको रुपमा सरकारका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने बताए । वीरगञ्ज क्षेत्रका समस्या आधारभूत भएको दाबी गर्दै उनले सरकार यसको निकासमा गम्भीर हुनुपर्ने उल्लेख गरे ।
निर्वाचित केन्द्रीय सदस्य गुप्ताले बस्तुगत क्षेत्र साथै उद्योग व्यापारका समग्र समस्याको समाधानको पहल गर्ने बताए ।
उनले निजीक्षेत्र बलियो नभएसम्म आर्थिक विकासका अवसरहरू पनि दोहन हुन नसक्ने स्पष्ट पारे । केडिया जिल्ला तथा नगर उद्योग वाणिज्यको खुलाबाट र गुप्ता वस्तुगत सङ्घको तर्फबाट महासंघको सदस्य निर्वाचित भएका हुन् ।
FACEBOOK COMMENTS