काठमाडौं, भदौ १३ – एक महिलासहित वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् ।
नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिए ।
त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए ।
यसैगरी शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
FACEBOOK COMMENTS