काठमाडौं, जेठ २४ – वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितका लागि १८ वटा आइसीयू बेड थप गरिने भएको छ।कोरोना युनिफाइड अस्पतालका प्रमुख डा जागेश्वर गौतमका अनुसार वीर अस्पतालको नयाँ सर्जिकल भवनमा १८ वटा आइसीयू बेड थप गर्ने तयारी भएको हो।
आइसीयू बेड थप गर्न बेड तथा मोनिटर लगाएतका अन्य उपकरणहरु अस्पतालमा आइसकेको डा गौतमले बताए।यसअघि वीर अस्पतालमा ९ वटा आइसीयू बेड कोरोना संक्रमितका लागि सञ्चालन गरिएको थियो। डा गौतमलाई कोरोना युनिफाइड अस्पतालको प्रमुखको रुपमा तोकिएपछि उनले थप ६ वटा आइसीयू बेड व्यवस्थापन गरी कोरोना संक्रमितको उपचार गराएका थिए।
डा गौतमले आइसीयूमा उपचार गर्नुपर्ने अवस्थाका कोरोना संक्रमित अझै कम नभएकाले १८ वटा आइसीयू बेड थप गर्न लागिएको जानकारी दिए।‘वीर अस्पतालमा कोरोना संक्रमितका लागि सुरुमा ९ वटा आइसीयू बेड थियो, हामीले ६ वटा थप गरेर १५ बनायौं, अब अर्को १८ वटा बेड थपेर ३३ बनाउछौं,’ डा गौतमले भने, ‘१८ वटा आइसीयू बेड नयाँ भवनमा बनाउछौं, त्यसका लागि बेडहरु, भेन्टिलेटर, मोनिटर आइसकेको छ, सोमबार बिहानदेखि फिट गर्छौ।’
डा गौतमका अनुसार वीर अस्पतालको पुरानो भवनमा १९० बेड र सर्जिकल भवनमा १०० बेड सहित २९० वटा बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ।अस्पतालमा हाल १५ वटा आइसियू बेड रहेको छ। आइतबार अस्पतालमा १२७ जना कोरोना संक्रमति उपचाररत छन्। ती मध्ये ३ जना भेन्टिलेट गरी १५ जना आइसीयूमा उपचाररत छन्।
यस्तै अन्य बिरामीहरु अघिकांश अक्सिजन सपोर्टमा उपचाररत छन्।डा गौतमका अनुसार पुरानो भवनमा अस्पतालको अक्सिजन प्लान्टबाट बिरामीलाई अक्सिजनको व्यवस्थापन गरिएको छ भने नयाँ भवनमा रहेका बिरामीलाई सिलिण्डर मार्फत अक्सिजन दिइएको छ।वीर अस्पतालको नयाँ सर्जिकल भवनमा समेत केहीदिन भित्र नै अक्सिजन प्लान्ट जडान गर्न लागिएको समेत डा गौतमले बताए।
‘नयाँ भवनमा केही दिनभित्रे अक्सिजन प्लान्ट जडान गर्न लागेका छौं, एकसाता भित्रमा नै अक्सिजन प्लान्ट जडान हुन्छ,’ उनले भने, ‘अक्सिजन प्लान्ट जडानसँगै आइसीयू बेड पनि तयार हुन्छ। नयाँ भवनमा अक्सिजन सपोर्टमा राख्नपर्ने बिरामीलाई सहज हुन्छ।’
उनले नयाँ भवनमा अक्सिजन प्लान्ट निर्माण र आइसीयू बेड थप भएमा बिरामीले निजी अस्पतालमा महंगोमा उपचार गराउनुपर्ने बाध्यता कम हुने पनि बताए।‘वीर अस्पतालमा यो काम पहिला नै हुनुपर्ने थियो, ढिलै भनेपनि हामीले अक्सिजन र आइसीयू थप गर्न लागेका छौं,’ डा गौतमले भने, ‘वीर अस्पतालमा आइसीयू थप हुँदा बिरामीले सरकारीमा बेड नपाएर निजीमा महंगो शुल्क तिर्नपर्ने बाध्यता कम हुन्छ।’
FACEBOOK COMMENTS