काठमाडौँ – वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ ।
वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए।
“यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ”, दाहालले भने।
उनले एक महिनाभित्रै अनलाइन प्रणाली शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ भन्दै कसरी जाने भन्ने कुरा टुङ्गो लागि नसकेकाले अनलाइन सञ्चालनमा ढिलाइ भइरहेको बताए।
यो प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाइनमा स्वतःरहनेछ । वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भए पनि फर्कने कति छन्, त्यसको वास्तविक विवरण मन्त्रालयसँग छैन ।
नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि कुन अवस्थामा छन्, उनीहरुको व्यवस्थित तथ्याङ्क संकलन गर्न अनलाइन प्रणालीको विकास गर्न लागेको हो । श्रम कार्यालयसँग अनलाइन प्रणाली नहुँदा वैदेशिक रोजगारीबाट फर्किसकेपछि फेरि जाने श्रमिकको तथ्याङ्क दोहोरिने गरेको छ । जसले तथ्याङ्कमा समेत दोहोरोपनाको अवस्था देखिएको छ । अनलाइन प्रणाली शुरु भइसकेपछि तथ्याङ्क संकलनमा सुधार आउने विश्वास लिएको छ ।
विदेशमा मजदुरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, राहदानी नम्बरलगायत विदेशमा गरेको काम, उसको अनुभवलगायत सम्पूर्ण जानकारी राख्न अनलाइन प्रणालीको थालनी गर्न लागिएको मन्त्री गोकर्णराज विष्टले बताउँदै आएका छन्।
रासस
FACEBOOK COMMENTS