काठमाडौं,पुष १- वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष (सन् २०१३ देखि २०१९ नोभेम्बर)सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए । जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति क्ुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ ।
विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स (यूएई) ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पछिल्लो पटक वैदेशिक रोजगारीमा नेपालले प्रतिबन्ध लगाएका मुलुक इराक, अफगानिस्थानजस्ता मुलुकमा गएर बेपत्ता भएका नागरिकका धेरै गुनासा आउने गरेको तर ती देशबाट उद्धार गर्नका लागि सरकारका आधिकारिक निकाय नहँुदा निरीह जस्तै हुनु परेको गुनासो गर्नुभयो । बोर्डले विदेशमा बेपत्तामा परेको नागरिकको खोजी वा उद्धारका लागि दूतावासमार्फत पहल गर्दै आएकोे पनि उहाँले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका अधिकृत कृष्णकुमार सुवेदीले वैदेशिक रोजगारीको नाममा युरोप, अमेरिका जाने नाममा लाखौँ रकम खर्चेर गएर हराउने समस्या डरलाग्दो भएको बताउँदै उहाँले यसको समाधानका लागि सरकारका सरोकारवाला संयन्त्र र गैरसरकारी संस्थाले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै यसरी हराएका व्यक्तिको खोजिका लागि काम गर्ने आधिकारिक निकाय विदेशस्थित नियोग भएकाले नियोगमार्फत नै हराएका व्यक्तिको खोजीका लागि पहल हुने पनि जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS