मंसिर २७, वीरगञ्ज । नेपालको वैदेशिक व्यापारलाई अवरोधमुक्त बनाउन निजीक्षेत्रले माग गरेको छ । वीरगञ्जका उद्यमी व्यवसायीहरूले अर्थ मन्त्रालयको सचिवस्तरीय टोलीलाई यस्तो आग्रह गरेका हुन् ।
अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अगुवाइमा वीरगञ्ज आइपुगेको टोलीसित वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी र सरोकारका व्यवसायीले वैदेशिक व्यापारका समस्या समाधानमा सरकार गम्भीर नभएको गुनासो गरेका छन् । मन्त्रालयले वीरगञ्जमा शुक्रवार सरोकारका पक्षसित छलफल राखेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष सुवोधकुमार गुप्ताले भारत र तेस्रो मुलुकसित हुने व्यापारका अप्ठेरा समाधानका लागि मन्त्रालयको ध्यानाकर्षण गराए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले मन्त्रालयका सचिवलाई लिखित रुपमै व्यापार सहजीकरणको सुझाव बुझाएका छन् ।
वैदेशिक व्यापारमा निजीक्षेत्रले भोगेका समस्याहरूको समाधान भएमात्रै उद्यम व्यवसाय प्रतिस्पर्धी हुन सक्ने दाबी पनि गुप्ताले गरे । वीरगञ्ज उद्योग वाणिज्य संघले विगतमा पनि समस्याबारे सारोकारका निकायलाई बारम्बार ध्यानाकर्षण गराएको भन्दै सहभागी व्यवसायी सरकार समस्याको निकासमा खासै गम्भीर हुन नसकेको आरोप लगाए ।
सचिव पुडासैनीले कोरोना महामारीका कारण शिथिल हुन पुगेको उद्योग व्यापारलाई उकास्ने उपाय र त्यसका लागि निजीक्षेत्रसँग सहकार्यका बारेमा सरकार संवेदनशिल रहेको बताए । व्यवसायीका समस्या समाधान र सहजीकरणका उपायहरूमा सरकार निजीक्षेत्रसित सहकार्य गर्न तयार रहेको पनि उनको भनाइ थियो ।
वैदेशिक व्यापारमा ढुवानी सेवा प्रदायकको मानोमानीका कारण व्यापारको लागत बढी परेको गुनासो आयातकर्ताको छ । तेस्रो मुलुकबाट नेपाल आउने कार्गो ढुवानीमा संलग्न सिपिङ कम्पनीको मनपरी नियन्त्रणमा सरकार असफल भएको उनीहरूले बताए । नेपालमा दर्ता नै नगरी व्यवसाय चालाउँदासमेत सरकार मुकदर्शकमात्र बनेको आरोप पनि निजीक्षेत्रको छ ।
FACEBOOK COMMENTS