काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ ।
सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो ।
वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ ।
महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।
नयाँ सडक जानुअघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन् ।
त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरासहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन् । ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रतिघण्टा कर बाहेक रु २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु ५० र ६ पाङ्ग्रे वा सोभन्दा माथिका लागि प्रतिघण्टा रु २०० शुल्क लाग्नेछ ।
FACEBOOK COMMENTS