काठमाडौं, फागुन २३ – विदेशी पर्यटकको आगमनमा कमी आएका कारण व्यवसायमा मन्दी आएपछि होटेलहरूले कर्मचारीहरूलाई पटकपटक गरेर वार्षिक रूपमा दिइने तलबी बिदा एकैपटक दिन थालेका छन् । विशेषगरी काठमाडौंका तारे होटेल हरूले पहिलो चरणमा कर्मचारीहरूलाई बाँकी रहेको तलबी बिदा दिन थालेका हुन् । साथै, कतिपय होटेलहरूले कर्मचारीलाई क्षमता अभिवृद्धिको तालीम पनि शुरू गरेको बताइएको छ ।
पर्यटक कम भएपछि काठमाडौंका तारे होटेल तथा पर्यटक स्थलहरू सुनसान हुन थालेका छन् । सामान्य अवस्थामा ८० प्रतिशतभन्दा माथि हुने होटेल को अकुपेन्सी अहिले ३५ प्रतिशत भन्दा तल झरिसकेको छ । साथै, बुकिङ रद्द हुने क्रम पनि दैनिक रूपमा बढ्दै गएको छ । फलस्वरूप होटेलमा कर्मचारीहरू खाली हात बस्नुपर्ने अवस्था आएपछि उनीहरूलाई बिदा दिन थालिएको हो ।
सामान्यतया होटेल हरूले एउटा कर्मचारीलाई वार्षिक रूपमा ४५ दिनको तलबी बिदा ९साप्ताहिक बिदाबाहेक० दिँदै आएका छन् । अहिले विकल्पका रूपमा उक्त बिदा एकैचोटि दिन थालिएको हो । उनीहरूले पाउनुपर्ने बिदा सकिएपछि तत्कालीन अवस्थालाई दृष्टिगत गर्दै थप बिदा दिने वा काममा फर्काउने भन्ने विषयमा निर्णय गरिने होटेलहरूको भनाइ छ ।
नेपालका तारे होटेलहरू विदेशी पर्यटकमा नै निर्भर छन् । आन्तरिक पर्यटकले मात्र नेपालमा तारे होटेलहरू चल्ने अवस्था छैन । तर, चीनबाट शुरू भएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय अन्य मुलुकमा पनि फैलिएसँगै संसारभर त्रास बढेको छ । यसै कारण विभिन्न मुलुकले आफ्ना नागरिकलाई वैदेशिक यात्रामा जान कडाइ गरेका छन् । नेपालले पनि विभिन्न पाँच मुलुकका नागरिकलाई अन–अराइभल भिषा नदिने निर्णय गरेको छ ।
कोरोना भाइरसका कारण नेपालसहित विश्व पर्यटन तथा होेटेल व्यवसाय नै नराम्ररी प्रभावित पारेको छ । अहिले संसारभर ३० प्रतिशतभन्दा बढीको मात्रामा होटेल बुकिङ रद्द भइरहेको छ ।
होटेल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणाले हाल कर्मचारीलाई ‘पेन्डिङ लिभ’ दिन होटेलहरूलाई अनुराध गरेको बताइन् । ‘कोरोनाका कारण नेपालको मात्र होइन, संसारभरको होटेल तथा पर्यटन व्यवसाय प्रभावित भएको छ,’ उनले भनिन्, ‘यो अवस्थामा हामीले केही गर्न सक्ने स्थिति छैन ।’ अहिले अन्नपूर्ण होटेलको अकुपेन्सी रेट ३० देखि ३५ प्रतिशतको बीचमा रहेको उनको भनाइ छ । उनी अन्नपूर्ण होटेल की सञ्चालक पनि हुन् ।
यस्तै, होटेल सोल्टीका महाप्रबन्धक उपौल मजुमदारले यस बीचमा कर्मचारीलाई बिदासँग क्षमता अभिवृद्धिको तालीम पनि दिन थालिएको बताए । ‘पर्यटक नआउँदा अहिले होटेल मा कामको चाप छैन । त्यसैले कर्मचारीलाई बिदा दिने तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने काम पनि गर्दै आएका छौं,’ उनले भने ।
यस्तो अवस्थामा कोरोनाबारे सरकारले सही सूचना दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपालमा कोरोना भाइरस भित्रिएको छ कि छैन ?, अझै केही थाहा छैन । यो अवस्थामा सरकारले सही सूचना दिन नसकेको देखिन्छ ।’आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS