काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसायीहरुले दुईटा व्यालेन्ससिट बनाउने गरेको खुलासा गरेका छन् । एक सञ्चारमाध्यममा टीप्पणी गर्दै यस्तो खुलासा गरेपछि व्यवसायीहरु आक्रोशित बनेका छन् । उनले बैंकका सिइओहरुले नै दुईटा ब्यालेन्ससिट बनाउन लगाउने गरेको अभिव्यक्ति त्यहाँ दिएका छन् ।
उनले भनेका छन्, ‘व्यवसायीले दुईवटा ब्यालेन्स सिट बनाउँछन् भन्ने विषय आइरहेको छ, त्यो हुनु हुँदैन ।’ व्यवसायीले कर छल्न घाटाको र सजिलै ऋण लिन नाफाको ब्यालेन्ससिट चाहिने भएकाले यस्तो हुने गरेको आशय उक्त टिप्पणीमा छ । उनले थपेका छन्, ‘कर छल्नका लागि मात्रै हो भने बैंकलाई किन नाफाको ब्यालेन्स सिट दिने? बैंकलाई पनि त्यस्तै ब्यालेन्स सिट दिए भैहाल्यो नि। नाफाको ब्यालेन्स सिट व्यवसायीलाई किन चाहिएको छ, सजिलै ऋण लिन। करसँग जोडिएको यो ठुलो कुरा नै होइन। यो बैंकिङ क्षेत्रका लागि मात्रै विषय बाहिर आइरहेको छ।’
महासंघको जिम्मेवार पदाधिकारीले दोहोरो व्यालेन्ससिट बनाउनुपर्ने बाध्यता रहेको भन्दै सरकारी नियमलाई चुनौती दिएपछि विवादमा तानिएका हुन् । ‘व्यवसायीका हकहितका लागि बनेको महासंघले के भइरहेको छ भनेर सार्वजनिक अभिव्यक्ति दिने भन्दा पनि गलत भइरहेको भए सच्याउन भित्री रुपमै लाग्नुपर्ने हुन्छ,’ एक व्यवसायीले भने, ‘उनको अभिव्यक्तिले गर्दा सवै त्यस्तै गर्छन् भन्ने सन्देश बाहिर गएको छ ।’
उनको अभिव्यक्तिले एकातिर व्यवसायी कर छली गरिरहेको आशंका पैदा गरेको छ भने अर्कातिर सवै बैंक र तिनीहरुका सिइओको कामकारबाहीमाथि प्रश्न उठेको छ ।
कोही कसैले गरिरहेका भएपनि त्यस्ता व्यक्ति पत्ता लगाइ महासंघले आवश्यक कारबाही अघि बढाउन सक्नुपर्ने अरु व्यवसायीको तर्क छ । तर, यस विषयलाई सामान्ययीकरण गरेर अभिव्यक्ति दिँदा सवै मुछिएका कारण महासंघका सदस्य व्यवसायीहरु आक्रोशित बनेका हुन् ।
उनको अभिव्यक्ति पछि व्यवसायीका ब्यालेन्ससिट भने सरकारले जाँच गर्ने भएको छ । यसअघि बैंक र राजश्व कार्यालयमा बुझाइएका ब्यालेन्ससिट बिचको तादम्यता नखोज्ने सरकारले अबदेखि कडाइ गर्ने संकेत समेत गरेको छ । अर्थमन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गाना विगतमा पनि व्यवसायीले यस्ता गतिविधि गरेको सुनिएको बताउँछन् । महासंघकै पदाधिकारीले खुलासा गरेपछि भने सरकार सजक भएको संकेत उनले गरे । उनले भने, ‘विगतमा व्यवसायीहरुले यस्ता गतिविधी गरेपनि अब हुन दिँदैनौं । हामी बजेट मार्फत कसरी इन्टरबिलिङ गर्ने भनेर लागिरहेका छौं । यसैगरी बैंकमा पेश गरेको कागजजात र कर कार्यलयमा पेश गरेको कागजजात मिले÷नमिलेको पनि जाँच्ने तयारी गरिरहेका छौं ।’ दोहोरो ब्यालेन्ससिट मार्फत् कारोबार गरेको देखिए कारबाही हुने समेत उनले बताए।
ढुंगानाले छानविनका विषयमा खुलाउन नचाहे पनि अर्थ मन्त्रालयले यस विषयमा छानविन थालिसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एक हजार भन्दा बढी फाइलमाथि छानबिन गरिँदैछ । अर्थमन्त्रालयको पछिल्लो कामकारबाहीबाट सजक बनिरहेका व्यवसायीलाई वरिष्ठ उपाध्यक्ष गोल्छाको अभिव्यत्तिले झन् त्रस्त बनाएको हो ।
नेपालको उद्योग धन्दाको विकास र प्रवद्र्धनमा नेपाली उद्यमीहरुको भूमिका महत्वपूर्ण रहँदै आएपनि पछिल्लो दशक सुस्ताएको एक उद्यमीले बताए । उनले कुनै बेला मुलुकको कुलग्राहस्थ उत्पादनको झण्डै १६ प्रतिशतसम्मको उद्योगले योगदान पु¥याएको बताए । पछिल्लो समय घटेर ५–६ प्रतिशतमा खुम्चिन बाध्य भएको बताउँदै महासंघले त्यतातिर ध्यान दिनुपर्ने उल्लेख गरे ।
वरिष्ठ उपाध्यक्ष गोल्छा जस्ता व्यापारीका कारण उद्योग व्यवसाय समेत बेला–बेला समस्या पर्ने उनले बताए । दोहोरो ब्यालेन्ससिट बनाउनेमा गोल्छा पनि हुनसक्ने उनको आशंका छ ।
गोल्छाको मातहतमा एउटा पनि उद्योग नरहेको बताउँदै स्वदेशी उद्योगलाई प्रोत्साहन दिन उनले नसक्ने बताउँछन् । ‘नेपालमै रोजगारी सिर्जना गर्ने र निर्यात प्रतिस्थापनमा लाग्ने भन्दै पनि बाहिरका सामान बढी कसरी ल्याउनेमा उनको ध्यान हुन्छ,’ उनले भने, ‘यसकारण नेपालमै उद्योग व्यवसाय गर्नेहरुका हकहितमा बोल्ने संस्थाको उनी सही ढंगले नेतृत्व गर्न सक्दैनन् ।’ उनका अनुसार गोल्छाको कम्पनीबाट मात्र वार्षिक २० अर्व बाहिरिने गरेको छ ।
वरिष्ठ उपाध्यक्ष गोल्छाको अभिव्यक्ति कार्यशैलीका कारण महासंघको नेतृत्व दिन नसकिने निष्कर्षमा अधिकांस उद्योगी व्यवसायी पुगेका छन् । यही कारण स्वतः अध्यक्ष बन्ने प्रावधानलाई विधान संशोधन गरेर भएपनि फेर्नुपर्नेमा धेरै सदस्य लागि परेका छन् । विधान संशोधनका लागि पूर्व अध्यक्ष चण्डिराज ढकालको संयोजकत्वमा समिति समेत बनिसकेको छ ।
FACEBOOK COMMENTS