काठमाडौं- नेपालको वैदेशिक व्यापार नबढ्नुमा व्यापार अवरोध नै मुख्य कारण रहेको विश्व बैंकले औंल्याएको छ ।
विश्व बैंकले शुक्रबार नेपालमा सार्वजनिक गरेको रिपोर्टमा नेपालले व्यापार अवरोधलाई मात्रै सुधार गर्ने हो भने तुरुन्त ४ गुणासम्म निर्यात वृद्धि गर्न सकिने उल्लेख गरिएको छ ।
विश्व बैंक र व्यापार, अर्थशास्त्र र पर्यावरणमाथि दक्षिण एशियाली दृष्टिको सहकार्यमा दक्षिण एशियाका पाँच मुलुकहरु अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तान र नेपालमा उक्त रिपोर्ट तयार गरिएकोमा काठमाडौंमा शुक्रबार अन्तिम रिपोर्ट सार्वजनिक गरिएको हो ।
रिपोर्टमा दक्षिण एशियाको अन्तरक्षेत्रीय व्यापारको हिस्सा विश्वकै सबैभन्दा कम अर्थात् ५ प्रतिशत मात्र रहेको देखाइएको छ ।
जबकि पूर्वी एशिया प्यासिफिक क्षेत्रमा यो हिस्सा ५० प्रतिशत रहेको पाइएको छ । रिपोर्टले भन्सार, शुल्क र अन्य वास्तविक तथा अनुमानिक गैरभन्सार अवरोधहरु, कनेक्टिभिटी लागत र बोर्डर ट्रष्ट डेफिसिटलाई व्यापार अवरोधको मुख्य कारकको रुपमा रिपोर्टले देखाएको छ ।
नेपाल लगायत दक्षिण एशियाली क्षेत्रमा हुने अन्तरक्षेत्रीय व्यापार भन्दा बाह्य क्षेत्रीय व्यापार सहज भएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । यसको कारण सुरक्षा चुनौती रहेको र एक तिहाई भन्दा बढी व्यापार संवेदनशील सूचीमा रहेको बताइएको छ ।
दक्षिण एशियामा क्षेत्रीय सहकार्यको मुख्य अवरोधक कनेक्टिभिटी रहेको र यहाँ जमिन तथा आकाशमार्गबाट हुने कनेक्टिभिटी अवरोधका कारण दक्षिण एशियाले व्यापारबाट राम्रो फाइदा लिन नसकिरहेको बताइएको छ ।
यसले गर्दा गर्दा नेपालमा आयात गरिने सामग्रीहरु महँगो पर्न गएको बताइएको छ । यद्यपि कनेक्टिभिटी विस्तारको क्रममा नेपालले राम्रो प्रगति हासिल गर्दै गएको विश्व बैंकका अर्थशास्त्री सञ्जय कठौरियाले बताए ।
रिपोर्टमा नेपालले भारत र श्रीलंकाबीचको हवाई सेवा उदारीकरणबाट पाठ सिक्न सुझाव दिइएको छ । भारतका विभिन्न १४ शहरमा श्रीलंकाबाट सातामा १४७ ओटा उडान भइरहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एशियाको कुल ग्राहर्स्थ उत्पादनको ८० प्रतिशत हिस्सा एउटै देशले धान्ने गरेको भन्दै दक्षिण एशियाको अवस्था अन्य क्षेत्रको भन्दा विशिष्ठ भएकोले त्यसै अनुसार व्यवहार गरिनुपर्ने बताए ।
FACEBOOK COMMENTS