काठमाडौँ, आश्विन २५ – कोरोना संक्रमितको संख्यासँगै मृतकको संख्यासमेत उच्च हुँदै गएको छ। शनिबार राति र आइतबार बिहान गरी थप १३ जना संक्रमितले ज्यान गुमाएका छन्। शनिबार प्रेस बिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६१४ जनाको कोरोनाले मृत्यु भएको बताएका थिए।
धागो कारखानास्थित कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
त्यसैगरी २४ गतेदेखि कोरोना विशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुषको शनिबार राती ९:५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।
गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएकी महिलाको मध्यराति २ बजे मृत्यु भएको डा. गौतमले बताए।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान र धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।
बाँके जिल्लामा शनिबार राति कोरोना भाइरस (कोभिड १९) बाट दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा शनिबार राति ९:५५ बजे मृत्यु भएको हो।
कोहलपुर नगरपालिका- ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको राति १० बजे भेरी अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको शनिबार राति मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी हरिनगरा–४ का ७१ वर्षीय वृद्धको उपचारका क्रममा राति १०:१५ बजे र दुहवी –३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो।
भरतपुर महानगरपालिका-१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो। दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भइरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धुलिखेल अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार राति एक पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार राति २:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। असोज २० गते कोरोना पुष्टि भएका उनी अस्पतालमा २३ गते भर्ना भएका थिए।
FACEBOOK COMMENTS