काठमाडौं,माघ १६- हाम्रो देश नेपालमा आज माघ १६ गते शहीद दिवस मनाईँदै छ ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने यो शहीद दिवस देशभक्त नेपाली जनताका लागि महत्वपूर्ण दिवस हो ।
यो दिवसमा नेपाली जनताले वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी उनीहरुले देश र जनताप्रति गरेको वलिदानको उच्च कदर गर्दै श्रदासुमन गर्नु उनीहरुप्रतिको वास्तविक सम्मान हो ।
शहीदहरु जसले देश र जनताको मुक्तिको लागि हाँसी हाँसी आफ्नो वलिदानी दिन्छन् , त्यस्ता व्यक्तिलाई नै शहीद भनिन्छ ।
१०४ वर्षे तानाशाही राणा शासनको विरोधमा प्रदर्शन गर्ने युवाहरु शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फाँसी र गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली प्रहार गरेर राणा शासकले हत्या गरेका थिए ।
देशमा राणा शासनको विरुद्धमा लडेका ज्ञात, अज्ञात शहीदहरुको वलिदानको उच्च मुल्याङ्न गर्दै उनीहरुले देश र जनतालाई देखाएको बाटो अनुकरण गर्न माघ १६ गते हामीले शहीद दिवस मनाउँदै आएका छौँ ।
देश र जनताका लागि वलिदानी दिने यस्ता वीर शहीदहरु हाम्रो देशमा हजारौंको संख्यामा छन् ।
उनीहरूले देश र नेपाली जनताका लागि आफ्नो प्राणको आहुती दिए ।
शहीदको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो ।
तर नेताहरुले मीठा भाषण गरेर मात्र शहीदहरुप्रती सच्चा श्रद्धाञ्जलि हुँदैन ।
शहीद गेटमा गएर शहीदहरुको
फोटोमा माल्यार्पण गर्दैमा, शहीदहरूको नाममा एकमिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सम्मान हुँदैन ।
वास्तविक सम्मान त तिनै शहीदका परिवार,जो बिचल्लीमा परी दयनीय अवस्था गुजारिरहेका छन्, तिनीहरुको उचित हेरविचार गर्नु नै शहीद दिवसको सार्थकता रहने छ ।
शहीदहरु सबैका साझा सम्पत्ति हुन् ।
यस्ता अमूल्य सम्पत्तिको संरक्षण गर्नु र कदर गर्नु हामी सबै नेपालीको कर्तव्य र दायित्व हो ।
मुलुकमा यस्ता शहीदहरुले बलिदानी नदिएको भए आज हामी नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनौँ ।
जसले आफ्नो देशको स्वतन्त्रताका लागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूलाई उच्च सम्मान गर्न आवश्यक छ ।
आज हामी सबै नेपालीको प्रमुख दायित्व भनेको नै शहीदहरुको सपना साकार पार्नु हो ।
शहीदहरूको रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई हामी कसैले भुल्नु हुँदैन ।
FACEBOOK COMMENTS