काठमाडौं, माघ ६ – राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण गर्दै तोकिएको समयमै आगामी प्रतिनिधिसभाको निर्वाचन गराउन जरुरी रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने कार्यमा निर्वाचन आयोग दत्तचित्त भएर लाग्नुपर्ने बताइन् ।
राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदान स्थल तथा केन्द्र मतदातामैत्री बनाउन आयोगलाई सुझाव दिइन् । सरकारले आगामी १७ र २७ वैशाखमा निर्वाचनको मिति घोषणा गर्दै सोहीअनुसार तयारी तीव्र पारिसकेको छ ।
राष्ट्रपति भण्डारीले निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि छनोट गर्न पाउने गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्ने आवश्यकता आंैल्याइन् । सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक गृहकार्य र तयारी थालिसकिएको जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचनसम्बन्धी नीति एवं कानूनको तर्जुमा, राजनीतिक दल दर्ता र सोको व्यवस्थापन, मतदाता नामावली संकलन तथा अद्यावधिकको अवस्थालगायत विषयमा जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS