काठमाडौं, पुस ३- शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । कठ्याङ्ग्रिँदो चिसोका कारण झापादेखि कैलालीसम्मका तराईका सबै जिल्ला प्रभावित छन्। मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो
धेरै दिनसम्म घाम नलाग्नु, निरन्तर बाक्लो कुइरो लाग्नु, पानी परेझैं शीतका थोपा खस्नु र तापक्रम खस्किएर कठ्याङ्ग्रिने गरी जाडो हुनु नै शीतलहरको संकेत हो।तराईका भू–भागमा निरन्तर ४८ घन्टा वा सोभन्दा बढी अवधिसम्म घाम नदेखिने अवस्था बनेको खण्डमा त्यस्तो अवस्थालाई मौसमविद्हरू शीतलहरका रूपमा बुझ्ने गर्छन्।
निरन्तरको बाक्लो हुस्सुसँगै औषत तापक्रम एकैदिन १० डिग्री हाराहारीमा झरेको अवस्थामा शीतलहर घोषणा गर्ने गरिन्छ। बाक्लो हुस्सुका कारण कर्णाली प्रदेशको मुख्यालय सुर्खेत र आसपासका भेगमा मंगलबारदेखि मौसम प्रभावित बनेको छ।
विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, नवलपरासी, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ र झापामा शितलहरको असर बढी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो ।
शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ ।
FACEBOOK COMMENTS