काठमाडौं, जेठ २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले यातायातसहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
‘कोरोनाको दोस्रो लहरको महामारीसँगै राज्यद्वारा गरिएको निषेधाज्ञाले गर्दा रोग, शोक र भोकले व्याकुल भएका यातायात क्षेत्रका स्वरोजगारसहित सम्पूर्ण श्रमिकहरूको विभिन्न समस्या सम्बोधन गर्नका लागि टुकोन यो ज्ञापन पत्रमार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ टुकोनद्वारा पेश भएको ज्ञापनपत्रमा भनिएको छ ।
यस्ता छन् टुकोनको माटहरू–
१. कोरोना महामारीको कारणले गर्दा राज्यद्वारा गरीएको निशेधाज्ञा सँगै व्यवसाय संचालन गर्न नपाएर बेहाल भएका यातायात क्षेत्रका सम्पूर्ण स्वरोजगार श्रमिकहरूको निशेधाज्ञा अवधीभरको सवारीसाधनको बैंक ब्याज मिनाह गराई सवारीसाधन निर्बाध संचालनमा आएको ६ महीना सम्म बैंकको किस्ता बुझाउँन सरलीकरण गराइयोस् ।
२. निषेधाज्ञाले गर्दा रोजगार विहीन भएर भोकले आक्रान्त भएका यातायात क्षेत्रका सम्पूर्ण सवारी चालक, परिचारक एवं सहचालकहरुलाई तत्काल यथोचित राहतको व्यवस्था मिलाईयोस् ।
३. निषेधाज्ञा अवधीमा पनि मापदण्ड निर्धारण गरेर हवाई सेवा संचालनमा ल्याइए जस्तै लामो तथा छोटो दूरीका, दिवा एवं रात्रिक़ालीन सेवाका सम्पूर्ण सवारीहरु तत्काल संचालनमा ल्याऊन यथोचित व्यवस्था मिलाईयोस् ।
४. यातायात सहित सम्पूर्ण क्षेत्रका श्रमिकहरुलाई यो वा त्यो बहानामा नअल्झाइकन सिघ्रातिसिघ्र सामाजिक सुरक्षा योजनामा अनुवन्धित गराउने व्यवस्था गराउनको लागि रोजगारदाताहरुलाई वाध्य तुल्याइयोस् ।
५. संगठित एवं असंगठित क्षेत्रका सबै श्रमिकहरुलाई कार्यस्थलमा नै पायक पर्नेगरी स्थानीय सरकारद्वारा कोरोना विरुद्धको खोप, औषधोपचार सहित राहतको व्यवस्था तत्काल मिलाइयोस् ।
FACEBOOK COMMENTS