विराटनगर – मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ ।
श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ ।
बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्रममा फेला परेको हो ।
उद्योगमा अनुगमन टोली आउने सूचना प्राप्त भएपछि उद्योगका व्यवस्थापक कौशल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करीब ५० जनाभन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमन टोलीका सदस्य नेपाल समाजवादी ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले बताए । “उद्योगले वर्षौंदेखि श्रम शोषण गरेको कुरा श्रमिकले अनुगमन टोलीलाई सुनाइदिने डरले लुकाएको रहेछ,” कर्णले भने ।
चप्पल उद्योगले श्रमिकको व्यापक रुपमा श्रम शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताए । श्रम कार्यालयले हाइलाइफ चप्पल उद्योगमा कार्यरत श्रमिक कर्मचारीको हाजिर खाता र तलब भर्पाइसमेत नियन्त्रणमा लिएको छ । आगामी १५ दिनभित्र मजुदरका सम्पूर्ण सबै समस्याको हल गरी श्रम ऐनले तोकेअनुसार तलब नदिए उद्योग नै बन्द गरिने श्रम कार्यालयका प्रमुख गोपले बताए ।
त्यसैगरी विराटनगर विमानस्थल नजीकै रहेको होटल एशिया टिकमा गरिएको अनुगमनका क्रममा होटलमा काम गर्ने अधिकांश मजदुरलाई श्रम श्रोषण गरिएको पाइएको जिफन्ट नेपालका प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी दिए । होटलले ग्राहकबाट १० प्रतिशत लिएको सेवाशुल्क रकम मजदुरलाई नदिएको अध्यक्ष धमला बताए । होटलमा ४० जना मजदुर कार्यरत रहेका छन् । रासस
FACEBOOK COMMENTS