१० दिनयता उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ११ जना घरमै छन् कि खुलेआम हिँडिरहेका छन् पत्तो छैन
काठमाडौँ, श्रावण ५ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २३ गते भक्तपुरका चार जनासहित काठमाडौं उपत्यकामा २८ जनामा संक्रमण देखिएको विवरण सार्वजनिक गर्यो । भक्तपुरका संक्रमितमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका गठ्ठाघरका एक–एक जना र सूर्यविनायक नगरपालिका बालकोटका दुई जना थिए ।
अरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आइसोलेसनमा पठाए पनि गठ्ठाघरकी महिला सम्पर्कमा आइनन् । ईडीसीडीको कन्ट्रोल रुमका अनुसार उनी ‘सम्पर्कविहीन संक्रमित’ हुन् ।
गठ्ठाघरमा एक महिला संक्रमित रहेको जानकारी आए पनि पत्ता लगाउन नसकेको मध्यपुर थिमि नगरपालिका–३ का वडाध्यक्ष प्रेम कुटुले बताए । ‘संक्रमितको नाम, थर र उमेरका आधारमा खोजी गर्यौं, तर भेट्न सकेनौं,’ उनले भने । ती महिलाले पाटन अस्पतालमा स्वाब दिएकी थिइन् । फारममा फोन नम्बर नलेखेकाले उनलाई सम्पर्कमा ल्याउन नसकिएको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए ।
असार २३ गते नै संक्रमण पुष्टि भएका काठमाडौं गल्फुटारका एक पुरुष पनि सम्पर्कविहीन छन् । फोन नम्बर नभएका कारण उनीबारे थप विवरण संकलन हुन सकेको छैन ।
असार २५ मा उपत्यकामा संक्रमण पुष्टि भएका ४८ मध्ये चार जना अझै सम्पर्कमा आएका छैनन् । त्यस दिन संक्रमित पाइएका तर सम्पर्कमा नरहेकामा जनकपुर स्थायी ठेगाना भएका एक, कागेश्वरी मनोहराका एक, रौतहट स्थायी ठेगाना भएका एक र भक्तपुरका एक जना सम्पर्कमा नआएका हुन् ।
यस्तै, असार २७ मा उपत्यकामा रहेका तर स्याङ्जा वालिङ स्थायी ठेगाना भएका एक जनालाई गलत फोन नम्बर राखेकै कारण पत्ता लगाउन सकिएको छैन । ‘स्वाब दिँदा ल्याबमा छाडेको नम्बर नै गलत रहेछ,’ ईडीसीडीका एक अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा बसेको ठेगानासमेत खुलाइएको छैन ।’ उनी लक्षण भएका वा नभएका संक्रमित हुन् भन्ने पत्तो ईडीसीडीले पाएको छैन । पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब दिनुपर्छ । स्वाब दिँदा स्थायी र अस्थायी ठेगाना, मोबाइल नम्बर ल्याबले उपलब्ध गराएको फारममा लेख्नुपर्छ ।
दुई सातायता काठमाडौं उपत्यकामा विभिन्न ल्याबमा कोरोना परीक्षण गर्न स्वाब दिँदा गलत ठेगाना र मोबाइल नम्बर लेख्ने तथा मोबाइल नम्बर नै नलेख्नेहरू भेटिएका छन् । यही कारण कोरोना पोजिटिभ देखिए पनि सरकारी संयन्त्रले उनीहरूलाई पत्ता लगाउन सकेको छैन् । ‘यसरी गलत विवरण टिपाउनेमा पैसा तिरेर कोरोना परीक्षण गराउने बढी छन्’, ईडीसीडीका निर्देशक डा। वासुदेव पाण्डेले भने ।
यस्तो समस्या असार २९ गते पनि भयो । पाटन अस्पतालमा स्वाब दिएका ललितपुर आस्राङका एक जनालाई कोरोना पोजिटिभ देखियो । तर, ईडीसीडीले उनीसँग सम्पर्क गर्न सकेको छैन । ‘स्वाब दिँदा फारममा लेखेको नम्बर गलत रहेछ, सम्पर्क हुन सकेन’ ईडीसीडी स्रोतले भन्यो । उनी कुन अवस्थामा छन् भन्ने कसैलाई जानकारी छैन ।
गलत फोन नम्बर लेख्ने संक्रमित असार ३० मा पनि पाइयो । त्यस दिन काठमाडौं उपत्यकामै स्वाब दिएका कैलाली स्थायी ठेगानाका एक जनामा कोरोना पोजिटिभ पुष्टि भयो तर उनलाई ईडीसीडी संयन्त्रले सम्पर्क गर्न सकेन किनभने नमुना दिँदा गलत नम्बर टिपाइएको रहेछ । गलत फोन नम्बरकै कारण असार ३१ मा पनि एक संक्रमित सम्पर्कविहीन बने । यस्तै, साउन १ गते पनि एक जनाको यस्तै समस्या भएपछि प्रहरी लगाएर खोजी गर्नुपरेको ईडीसीडीमा कन्ट्याक्ट ट्रेसिङमा संलग्न एक कर्मचारीले बताए । ‘हाम्रा चिकित्सक साथीले चिनेको व्यक्ति रहेछ । ऊमार्फत प्रहरी लगाएर संक्रमितलाई अस्पतालको आइसोलेसनमा पठाएका छौं,’ उनले भने ।
ईडीसीडीका निर्देशक डा. पाण्डेले सम्पर्कबाहिर रहेका संक्रमित थोरै रहेको बताए । अधिकांश संक्रमित केही दिनपछि कुनै न कुनै माध्यमबाट सम्पर्कमा आउने उनले बताए । ‘काठमाडौं उपत्यकामा सम्पर्क नभएका संक्रमितहरूलाई आफूमा संक्रमण छ भन्ने थाहा हुन्छ । अस्पताल वा आइसोलेसन बसाइ छल्न मात्र सम्पर्कमा नआइदिएका हुन्,’ उनले भने, ‘उनीहरू संक्रमणप्रति सचेत छन् । प्रायः सम्पर्कमा नआउनेहरूले निजी रूपमा परीक्षण गराएको देखिन्छ ।’
ईडीसीडी स्रोतअनुसार विभिन्न कारणले परीक्षण गराउने र रिपोर्ट पोजिटिभ देखिएपछि डरले वा विभिन्न सरकारी संयन्त्रबाट गरिने सम्पर्कका कारण फोन नै अफ गरिदिनेहरू पनि हुन् । २५ गते संक्रमण पुष्टि भएका काठमाडौं उपत्यकाका दुई जनाको मोबाइल फोन अझै स्विच अफ छ । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा शुक्रराज अस्पताल लगायतका स्थानमा निःशुल्क गरिने परीक्षणमा देखिएका संक्रमितमा यो खाले समस्या छैन,’ उनले भने, ‘तर पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल वा वीर अस्पतालमा पैसा तिरेर परीक्षण गराएकाले लग बुकमा फोन नम्बर गलत टिपाउने तर परीक्षण रिपोर्ट के आयो भनेर बुझ्ने गरेको देखिन्छ ।’ यस्ता व्यक्ति रिपोर्ट पोजिटिभ देखिनेबित्तिकै सम्पर्कविहीन बन्छन् । ‘हामी सम्पर्क गर्छौं, काठमाडौंको जनस्वास्थ्य कार्यालयले पनि गर्छ, त्यसपछि स्थानीय तहहरूले पनि गर्छन्,’ उनले भने, ‘त्यसमाथि घरछिमेकले पनि नानाथरी कुरा भनिदिन्छन् । यी सबै कारणले उनीहरू फोन अफ गरेर बसिदिन्छन् ।’
निर्देशक डा। पाण्डेका अनुसार महाशाखाले पोजिटिभ देखिएका सबै संक्रमितलाई सम्पर्क गरेर उनीहरूको अवस्था बुझ्ने गरेको छ । आवश्यकताअनुसार उनीहरूलाई अस्पताल, आइसोलेसन केन्द्र वा घरमै बस्न सहायता प्रदान गर्ने गरेको छ । ‘पहिला घरमा बस्न दिने नियम नहुँदा हामीले जसरी पनि खोजेर अस्पताल नै पुर्याउने गरेका थियौं । त्यसका लागि प्रहरीको पनि सहयोग लिन्थ्यौं,’ उनले भने, ‘तर अहिले सबैलाई सम्पर्क गरेर उहाँहरूको आवश्यकता हेरेर सहयोग गर्छौं ।’
घरमै आइसोलेटेड भएर बस्न चाहनेहरूको सूची ईडीसीडीले सम्बन्धित स्थानीय तह र वडा कार्यालयलाई दिन्छ र त्यसपछि फलोअप वडाबाटै हुन्छ । ‘बीच–बीचमा हामी पनि फोन गरेर के भइरहेको छ भनेर सोधखोज गर्छौं,’ डा। पाण्डेले भने, ‘उहाँहरू सुरक्षित भएर बसिदिनुहुन्छ भन्ने विश्वास हो । वडाले पनि निगरानी गर्ने भएकाले त्यसमा समस्या हुँदैन । तर संक्रमित आफैं बढी सचेत भइदिनु राम्रो हुन्छ ।’
संक्रमित व्यक्तिको पहिचान हुन नसक्दा जोखिम बढी हुन सक्ने विज्ञहरू बताउँछन् । ‘सबैभन्दा जोखिम खुल्न नचाहने व्यक्तिहरूबाट हो । उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुँदैनन्,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डरीले भने, ‘उनीहरूले अरूलाई पनि संक्रमण सार्ने सम्भावना हुन्छ ।’ उनले टेकुमा पनि केही व्यक्ति स्वाब दिएर पोजिटिभ देखिएपछि भाग्ने गरेको पाइएको बताए । ‘यो समस्या हटाउन स्वाब लिँदा कम्तीमा दुईवटा नम्बर, स्थायी र अस्थायी ठेगाना अनिवार्य लिनुपर्छ,’ उनले भने ।
ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार नमुना संकलन गर्दा व्यक्तिको सकेसम्म ठीक सम्पर्क ठेगाना र फोन नम्बर लिनु त सबैभन्दा सजिलो उपाय हो । तर, सबैले ठीक सम्पर्क ठेगाना उपलब्ध गराइरहेका छन् भनेर यकिन गर्न सक्ने संयन्त्र छैन । ‘नमुना दिन आउने सबैलाई नागरिकता बोकेर आउनुहोस् भन्न पनि मिलेन । फेरि ती सबै रुजु गर्न अर्को मान्छे चाहिन्छ ।’ उनले यस्तो विषम परिस्थितिमा मानिस आफैं सचेत भएर जिम्मेवार नागरिकका रूपमा व्यवहार गर्नु नै उचित हुने बताए । ‘आफूले लापरबाही गर्दा सबैभन्दा पहिलो हानि आफ्नै परिवारलाई हुन्छ भनेर सोच्नुपर्छ,’ उनले भने, ‘लुकेर समाजमा रोग फैलाउनु भनेको त अपराध नै हो ।’
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS