काठमाडौं, ५ माघ – संगीतकार संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । संगीतकार पारस मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । काठमाडौंमा शनिबार बेलुका सम्पन्न नेपाल संगीतकार संघको १०औं वार्षिक साधारण सभाबाट मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ ।
साधारण सभाबाट संघको वरिष्ठ उपाध्यक्षमा संगीतकार चेतन सापकोटा, प्रथम उपाध्यक्षमा संगीतकार हरि लम्साल र द्वितीय उपाध्यक्ष संगीतकार अष्ट लामा चयन भएका हुन् । यस्तै संघको महासचिवमा संगीतकार वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् ।
यसैगरी संघको केन्द्रीय सदस्यहरूमा जेम्स प्रधान, राजन इशान, टंक बुढाथोकी र कालिप्रसाद बास्कोटा चयन भएका छन् । नेपाली संगीतकारको हकहितका लागि स्थापित नेपाल संगीतकार संघले यसपटक लकडाउनमा कैयौं विपन्न संगीतकारलाई राहत प्रदान गरेको निवर्तमान अध्यक्ष शान्तिराम राईले बताए ।
यस्तै संघका नवनिर्वाचित अध्यक्ष पारस मुकारुङले संगीतकारले अझै उचित रोयल्टी नपाएकाले आफू रोयल्टीका लागि सशक्त रूपमा लागिपर्ने बताएका छन् । कोभिडपछिको अवस्थामा संगीतकारको हकहितका लागि थुप्रै काम गर्नुपर्ने भएकाले त्यसका लागि आफ्नो कार्यसमिति क्रियाशील रहेको पनि उनले बताएका छन् ।
FACEBOOK COMMENTS