काठमाडौं,फागुन १- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने खतरा रहेको बताएका छन्।
शनिबार बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशन गरेको बर्दिया जिल्लामा ‘जनयुद्ध’मा मारिएका, बेपत्ता र घाइतेहरुको जीवनगाथा पुस्तकको काठमाडौंमा विमोचन गर्दै प्रचण्डले शहीदका रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि भन्ने खतरा सते पैदा भएको बताए।
उनले जनताले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति पुस्तकले प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।
उनले सशस्त्र युद्धपछि हतियार र सेना व्यवस्थापनको काम युगान्तकारी प्रकृतिको भएको बताए। ‘कतिपय मान्छेलाई मन पर्न सक्छ। कतिपय मान्छेलाई मन नपर्न सक्छ। विचार त आफ्ना-आफ्ना हुन्छन् नै’, प्रचण्डले भने, ‘तर, हामीले जुन कर्म गरेका छौं, युगान्तकारी नै गरेका छौं। बलिदान जो भएको छ, त्यो पनि युगान्तकारी प्रकृतिकै छ। ऐतिहासिक प्रकृतिको छ।’
उनले शान्ति सम्झौतालाई सफल पार्न आफूहरूले खेलेको भूमिका दूरगामी रहेको समेत बताए। सबैभन्दा उत्पीडित र विभेदमा पारिएको वर्ग, समुदाय अगाडि आउनु इतिहासको आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीको नेता र युद्धको रणनीतिकारका रूपमा आफूले त्यो भूमिका पाएको बताए।
FACEBOOK COMMENTS