काठमाडौं – आगामी मंसिर १ गतेदेखि कर्मचारी संचय कोषले संचयकर्ता स्वास्थ्य बीमा गर्ने भएको छ ।
संचयकर्तालाई सामान्य बिरामी प्रतिव्यक्ति १ लाख र जटिल प्रकारको रोग लाग्दा प्रतिव्यक्ति १० लाख गरी कुल ११ लाख रुपैयाँको कभर हुने गरी स्वास्थ्य बीमा गराउन लागेको हो ।
कोषले संचयकर्ताको स्वास्थ्य बीमा गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट गराउने भएको छ ।
कोषले प्रति संचयकर्ताको ४२० रुपैयाँको दरले बीमा शुल्क बुझाउने भएको छ ।
११ लाख रुपैयाँको बीमा कभर हुने गरी ४२० रुपैयाँमा स्वास्थ्य बीमा गर्नु निकै सस्तो भएको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीले बताए । ४२० रुपैयाँ मध्ये २१० रुपैयाँ पुर्नबीमामा खर्च हुने र बीमा दावी भुक्तानीमा पनि ५०र५० प्रतिशत खर्च बेहोरिने उनले बताए ।
संचयकोषमा ६ लाखभन्दा बढी संचयकर्ता छन् । सबै संचयकर्ताको प्रिमियम एकमुष्ट रुपमा कोषले राष्ट्रिय बीमा कम्पनीलाई बुझाउने छ । ‘एकमुष्ट प्रिमियम २५ करोड भन्दा बढी आउँछ । मार्केटिङ खर्च, प्रशासनिक खर्च कम हुन्छ । त्यसैको आधारमा हामीले निकै सस्तो शुल्कमा बीमा गर्न लागेका हौँ’ रायमाझीले भने–‘प्रत्येक दुई वर्षमा बीमा शुल्क परिमार्जन गर्ने सहमति भएको छ । पहिलो वर्ष घाटा नहुने निश्चित छ । दोस्रो वर्ष घाटामा गयो भने शुल्क बढाउनु पर्ने हुन्छ ।’
संचयकर्ता बिरामी भएर अस्पताल भर्ना भई उपचार गरेको खण्डमा १ लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म बीमा कभर हुने उनले जानकारी दिए ।
FACEBOOK COMMENTS