भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएर झुट बोलेका छन् ।
संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’
भारतले बुद्धको जन्मका बारेमा पटक–पटक भ्रम फैलाउने गरेको छ । त्यो केही प्रचार सामाग्रीमा समेत पाइन्छ ।
‘कपिलवस्तु छैटौं शताब्दी इसापूर्वमा शाक्य गणराज्यको राजधानी हो । यहाँका राजा शुद्धोधन गौतम बुद्धका पिता थिए । भगवान् गौतम बुद्धको महापरिनिर्माणपछि अस्तु अवशेषलार्ई आठ भागमा बाँडिएको थियो । जसको एक भाग शाक्यहरूले पनि पाए । यहाँको मुख्य स्तुप शाक्यद्वारा भगवान् बुद्धको अस्तु अवशेषमा निर्मित गरिएको हो । यसको संकेत सबैभन्दा पहिला डब्लूसी पेप्पीद्वारा सन् १८९८ मा यहाँ पाइएका ढुंगाले निर्मित अस्तु राख्ने भाँडोमा लेखिएको अभिलेख पाइयो । उक्त अभिलेखमा उल्लिखित छ कि भगवान् बुद्धका लागि यो स्तुपको निर्माण उनका शाक्य भाइहरूद्वारा उनकी बहिनी, छोरा र श्रीमतीसँगै मिलेर गरिएको थियो ।’
उल्लिखित वाक्य नेपालको कपिलवस्तु पिपर–७ मा सीमा जोडिएको भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत अलिगढवा क्षेत्रमा राखिएको साइनबोर्डमा उल्लेख भएको शब्दको अंश हो । बुद्ध जन्मेको भनेर पर्यटकलार्ई भ्रममा पार्ने ठाउँ यही हो । तर, भारतको पुरातत्व सर्वेक्षण विभागले राखेको उक्त साइन बोर्डले जन्मस्थलका बारेमा उल्लेख गरेको छैन । बुद्धको अस्तु विसर्जन मात्रै गरेको जनाएको छ ।
भारतीय दावीमा भारतीय पुरातत्वविद् केएम श्रीवास्तवबाट उत्खनन गरिएको पिपरहवा क्षेत्रमा पाइएको भनिएको भगवान् बुद्धको अस्थिधातु रहेको स्तुप र भग्नावशेष संरचनालार्ई राजा शुद्धोदनको दरबारका रूपमा प्रस्तुत गरिएको छ । उत्तरप्रदेश सरकारले पिपरहवामा पाइएको भग्नावशेषलाई प्राचीन दरबारको स्वरूप दिन निर्माणकार्य समेत गरेको छ । पिपरहवामा ‘राजा शुद्धोदनको दरबार’, ‘भगवान् बुद्धले २९ वर्र्ष बिताएको स्थल’ भनेर ठूला ठूला बोर्ड टाँगिएका छन् । अस्तु राखिएको स्थान उत्खनन गरी पर्यटकीय स्थल बनाइएको छ । वरिपरि पर्खाल लगाएको उक्त क्षेत्र सन् १९७१ देखि ७६ मा उत्खनन गरेको त्यहीँ राखिएको साइनबोर्डमा उल्लेख छ । त्यस क्षेत्रलाई ‘कपिलवस्तु’ नामकरण गरिएको छ । गौतम बुद्धको अस्तुको आठ भागमध्ये एक भाग नेपालको नवलपरासीस्थित रामग्राममा विसर्जन गरिएको तथ्य छ । बाँकी ७ भागलाई ८४ हजार भागमा विभाजन गरिएकामा जम्मा एक भाग मात्रै भारतमा रहेको नेपालका इतिहासविद्हरू बताउँछन् । त्यो एक भाग राखिएको ठाउँमा भारतको सिद्धार्थ नगरको अलिगढ रहेको उनीहरूको भनाइ छ । अस्तु रहेको क्षेत्रलाई भारतले वषौँ पहिला उत्खनन गरी पर्यटकीय स्थल बनाएको हो । भारतले त्यही ठाउँलाई गौतम बुद्धको जन्मस्थान हो भन्दै दाबी गर्ने गरेको छ । गौतम बुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो ।
पिपरहवाको विकासमा भारत सरकारले प्रशस्त लगानी गरेको छ । तर, अस्तुको एक भाग राखिएको नवलपरासीको रामग्रामवरिपरि स्थायी रूपमा बारसमेत लगाइएको छैन । उत्खननका लागि चीनलगायत देशका विश्वविद्यालयले चासो देखाए पनि नेपाल सरकारले वास्ता गरेको छैन । लुम्बिनीको विकासका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि यस क्षेत्रमा उक्त बजेटको गन्ध पनि आइपुग्दैन ।
अलिगढवामा उत्खनन गरेको क्षेत्रको मूलगेटमै ‘कपिलवस्तु’ लेखिएको छ । भारतको पुरातत्व सर्वेक्षणले उक्त क्षेत्र नजिकै गनवरियामा अर्को स्मारक क्षेत्र पनि घोषणा गरेको छ । यस क्षेत्रलाई पिपरहवाको नामले पनि चिनिन्छ । उक्त क्षेत्र उत्खननका क्रममा दोस्रो शताब्दीको इँटा पनि पाइएको उल्लेख छ । यसै क्षेत्रमा केही वर्र्षदेखि निर्माण भएको संरचनालाई भारतले नेपालको लुम्बिनी, रामग्राम, देवदह र तिलौराकोटको संरचनासँग दाँज्ने गरेको छ ।
लुम्बिनी र तिलौराकोटमा भेटिएको जस्तै इँटा प्रयोग गरी केही संरचना निर्माण गरिएका छन् । एक वर्र्षअघि निर्माण गरिएको उक्त संरचना पुरानोजस्तै देखिन्छ ।
भारतले दाबी गरेको कपिलवस्तुमा बुद्ध ग्रन्थ अनुसारका नदी, पहाड र हिमाल नदेखिने लुम्बिनी विकास कोषका कर्मचारी चूडामणि भट्टराई बताउँछन् । प्राचीन कपिलवस्तुको राजधानी आधुनिक नेपालको तिलौराकोट नै हो भन्ने अन्य आधारहरू पनि प्रशस्त पाइएका छन् । चिनियाँ पदयात्री तथा बौद्ध भिक्षुहरू फाहियान र हुयानसाङगले कपिलवस्तुको भ्रमण गरेका र उनीहरूको यात्रा वर्णनबाट कपिलवस्तुको भौगोलिक अवस्थिति र लुम्बिनीबाट कपिलवस्तुको राजधानीको दूरीको बारेमा स्पष्ट थाहा हुन्छ । उनीहरूले कपिलवस्तुबाट हिमालयको हिमशृङ्खला स्पष्ट देख्न सकिने र यो भागीरथी नदीको किनारमै अवस्थित छ भनेर दूरीसमेत किटान गरी लेखेका छन् । आधुनिक तिलौराकोटको अवस्थिति, यहाँबाट स्पष्ट देखिने हिमशृंखला र वाणगंगा नदीको किनारामा रहेको हुँदा चिनियाँ यात्रीहरूले वर्णन गरेको कपिलवस्तु यही हो भन्ने पुरातत्वविद्हरूको ठहर छ । यहाँ भएका उत्खनन कार्यहरूमा भारतीय पुरातत्वविद् पीसी मुखर्जीबाट उन्नाइसौँ शताब्दीको अन्त्यतिर प्राप्त भएका प्रमाणहरू, प्राचीन दरबारका भग्नावशेषहरू र नेपाल सरकार पुरातत्व विभाग र रिस्सो विश्वविद्यालय जापानबाट संयुक्त रूपमा गरिएको उत्खननबाट प्राप्त प्रमाणहरूबाट समेत निश्चित रूपमा तिलौराकोट नै प्राचीन कपिलवस्तु हो भन्ने प्रमाणित भइसकेको छ ।
तर, ऐतिहासिक तथ्यलाई बङ्ग्याई भारतीय पक्षले पिपरहवालाई प्राचीन कपिलवस्तु हो भन्ने दाबी गर्दै आएको छ । प्राचीन कपिलवस्तु (तिलौराकोट दरबार) लाई जातक निदान कथा, ललित विस्तार, बौद्ध ग्रन्थ, ऐतिहासिक अभिलेख, सम्राट अशोकद्वारा निर्मित स्तम्भ, चिनियाँ विश्वयात्री फाहियाहन हुयानसाङको यात्रा विवरणले नेपालको तिलौराकोट नै प्राचीन कपिलवस्तु भएको पुष्टि हुने इतिहासविद्हरू बताउँछन् । भारतको पिपरहवामा अशोकले स्थापना गरेको अशोक स्तम्भ छैन । नजिकै नदी पनि छैन । तर पनि भारतीय पक्ष कपिलवस्तु आफ्नै देशमा भएको भ्रामक प्रचार गर्न व्यस्त रहेको नेपाली इतिहासविद्हरू बताउँछन् ।
जापानका विश्वप्रसिद्ध पुरातत्वविद् प्रा जुराइयो नाकामुरा र भारतका पूर्णचन्द्र मुखर्जीसमेतले नेपालमा रहेको तिलौराकोट दरबार नै प्राचीन कपिलवस्तु भएको पुष्टि गरेका छन् । नक्कली लुम्बिनी र नक्कली कपिलवस्तु निर्माण गरेर विश्व समुदायलाईभ्रममा पार्न खोज्ने भारतको मिथ्या प्रचारलाई निस्तेज पार्न र लुम्बिनीमा डा एफुहरले अशोक स्तम्भको प्रमाणित गरेको दिन १ डिसेम्बर १८९६ लाई स्वदेश तथा विदेशमा पुगेका नेपालीहरूले एकसाथ अन्तर्राष्ट्रिय कपिलवस्तु दिवसका रूपमा मनाउने गरेका छन् ।
ओझेलमा तिलौराकोट
सरकारी उदासीनता र हेलचेक्य्राइँका कारण तिलौराकोट दरबारको थप उत्खनन हुन सकेको छैन । दिनानुदिन जंगलमा परिणत हँुदै गएको नेपालस्थित प्राचीन कपिलवस्तुको विकासमा सरकारले कुनै ध्यान दिएको पाइँदैन । न त भारतले दाबी गरेको विषयको खण्डन नै गरेको छ, न त यसको अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार नै । लुम्बिनी विकास गुरुयोजना भनी करोडौँ खर्च गरिएको छ तर भगवान् बुद्धले २९ वर्र्षको युवा अवस्था बिताएको र उनका पिता राजा शुद्धोदनको राजप्रासादको रूपमा समेत परिचित यस तिलौराकोट दरबारका लागि न त कुनै गुरु योजना छ, न त संरक्षण नै ।
तिलौराकोट (प्राचीन कपिलवस्तु दरबार) उत्खनन गर्दा भेटिएका सामग्रीहरू राखिएको कपिलवस्तु संग्राहलयसमेत अहिले ओझेलमा परेको छ । पर्याप्त प्रमाणको रूपमा रहेको संग्राहलय एउटा जिउँदो प्रमाण हो । यहाँका मौइकालीन र कुक्षाणकालीन पुरातात्विक सामग्रीहरूले प्राचीन कपिलवस्तु दरबार यही भएको पुष्टि गर्छन् । यहाँ रहेका सुन तथा चाँदीका असर्फी, प्राचीन भाँडाकुँडा, शिलास्तम्भ तथा अन्य वस्तुहरूबाट दरबार यही भएको तथ्य स्पष्ट छ ।
पुरातात्विक स्थान
नेपाली पुरातत्वविद्ले तिलौराकोट वरपर ६२ पुरातात्विक महत्वका स्थानहरूको पहिचान गरेका छन् । प्रमुख स्थानहरूको कुरा गर्दा कुदान (तिलौराकोटबाट ४.५ किमि दक्षिण), जहाँ भगवान् बुद्धले आफ्ना पिता शुद्धोदनलाई बुद्धत्व प्राप्त भएपछि प्रथमपटक भेटेका थिए, क्रकुछन्द बुद्धको जन्म तथा परिनिर्वाणस्थल गोटिहवा (तौलिहवाबाट ३ किमि दक्षिणपश्चिम), कनकमुनि बुद्धको जन्म तथा बुद्धत्व प्राप्तिस्थल निग्लिहवा (तौलिहवाको ७ किमि उत्तर), शाक्यहरूको सामूहिक वधस्थल सगरहवा, कनकमुनि बुद्धसँग सम्बन्धित औरराकोट (तौलिहवाको १० किमि उत्तरपूर्व), भगवान् बुद्धको मावलीघर देवदह (लुम्बिनीबाट ५४ किमि पूर्व) र रामग्राम जहाँ भगवान् बुद्धको अस्थिधातु रहेको स्तुप छ, आदि स्थानहरू तिलौराकोटको आसपासकै क्षेत्रमा रहेका छन् । भारतीयहरूले दाबी गरेको पिपरहवा वरपर बौद्ध साहित्यमा वर्णन गरिएका प्राचीन कपिलवस्तु वरपर हुनुपर्ने यस्ता पुरातात्विक स्थलहरू कुनैको पनि अस्तित्व छैन ।
विदेशीको चलखेल
जापानका वास्तुविद् प्रा केन्जो टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी विकास गुरुयोजनाले लुम्बिनीलाई बौद्ध तीर्थस्थल र विश्व पर्यटन केन्द्र बनाउने परिकल्पना गरेको छ । तर, मापदण्डविपरीत जानेमा विकास कोष स्वयं र अधिकांश विदेशी संस्था छन् । सम्झौता भएको ६ महिनामा निर्माण सुरू गरेर तीन वर्र्षमा सम्पन्न गर्नुपर्ने लुम्बिनी विकास कोष विहार नियमावली २०५८ को प्रावधानलाई एकाध संस्थाले मात्र पालना गरेका छन् । लुम्बिनीमा विहार निर्माण गर्न कोरिया, जापान, चीन, अस्ट्रेलिया, भियतनाम, सिंगापुर, बर्मा, क्यानडा, श्रीलंका, कम्बोडिया, भुटानलगायत देशका संस्थाले कोषसँग सम्झौता गरेका छन् । “पदाधिकारीहरू नियम मिचिएकामा औँला ठड्याउँदैनन्, बरू विदेशीबाट के व्यक्तिगत फाइदा लिन सकिन्छ भनेर हेर्छन्,” कोषका एक अधिकारीले बताए । व्यतिmगत फाइदाकै लागि कोषका पदाधिकारीले क्षमताहीन विदेशी संस्थासँग पनि सम्झौता गरेका छन् । त्यस्ता संस्थासँगको सम्झौता रद्द गर्न थप साधनस्रोत खर्च गर्नुपरेको छ । कोषले सामान्यतः एउटा देशको एक मात्र संस्थालाई एउटा प्लट दिने नियमावलीको व्यवस्थाविपरीत कोरियालाई चार, थाइल्यान्डलाई तीन, कम्बोडिया र बर्मालाई दुई–दुई वटा प्लट दिएको छ । विभागीय मन्त्री र पदाधिकारी नै लागेर त्यसो गरेको कोष स्रोत बताउँछ । स्रोतका अनुसार, नियम ३ (२) विपरीत थाइल्यान्डलाई तीनवटा प्लट दिँदा तत्कालीन संस्कृतिमन्त्री तथा कोष अध्यक्ष मीनेन्द्र रिजाल र उपाध्यक्ष शेर्पाको विशेष भूमिका थियो । लुम्बिनीमा बेथितिको सुरुआत २०४८ पछि भएको हो । त्यस बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पालामा मन्त्रिपरिषद्ले तौलिहवा–भैरहवा सडकको उत्तरपट्टि गुरुयोजनामा विद्यालयका लागि छुट्याइएको क्षेत्रमा जापानलाई शान्ति स्तुप बनाउन प्लट दिने निर्णय गरेको थियो । त्यस्तै, गुरुयोजनाले वन क्षेत्र मानेको प्लट ४ भदौ २०५४ मा कोरिया महाबोधी सोसाइटीलाई विहार निर्माण गर्न दिइएको थियो । लुम्बिनीमा बनेका र बनिरहेका कमै मात्र गुम्बा र विहार गुरुयोजना मुताबिक छन् । बुद्धिस्ट एसोसिएसन अफ चाइनाले बनाएको विहारको उत्तरपट्टि हुनुपर्ने प्रवेशद्वार दक्षिणपट्टि छ भने दक्षिणतर्फ हुनुपर्ने भियतनाम विहारको प्रवेशद्वार पूर्वतर्फ छ । यसबाट गुरुयोजना अनुसारका संरचना निर्माण, पुरातात्विक उत्खनन र उद्यान विकास छायाँमा परेका छन् । जानकारहरूका अनुसार, विदेशीले कोषका पदाधिकारीको कमजोरी समातेर आफूले चाहेजस्ता काम गराइरहेका छन् । विहारका भिक्षुहरू जे कुरामा पनि संगठित रूपमै कोषमाथि दबाब दिन आउँछन् । जस्तो ः सवारी साधनहरू बसपार्कमै रहनुपर्ने कोषको नियमको विरोध गर्दै उनीहरूले हरेक विहारसम्म पुग्ने थिति बसालेका छन् ।
यसरी सुरु भयो दुष्प्रचार
भ्रमपूर्ण इतिहासको खेती गर्नका निम्ति एउटै तथ्य पनि कति बलियो हुन्छ भन्ने सत्यको बलियो उदाहरण हो, गौतम बुद्धको जन्मथलोको निराधार विवाद । गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भनेर जिकिर गर्नुपर्ने अवस्थाबाट नेपालले अबको वर्षाैंसम्म पनि मुक्ति पाउने देखिँदैन । किनभने, भारतीयहरूले गौतम बुद्ध भारतमा जन्मिएको भन्ने भ्रमलाई यसरी फैलाइसकेका छन् कि त्यसका निम्ति नेपालीले वर्षौंको मिहिनेत गर्नुपर्ने हुन्छ । गौतम बुद्धको विषयमा फैलिएको भ्रमले सिंगो देशको इतिहास र वर्तमानका कति पक्षहरूमा हानि पुग्छ भन्ने तथ्य हामीले यतिखेर थाहा पाउनु जरुरी छ ।
त्यसभन्दापहिले थाहा पाउनु जरुरी छ, गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने हल्ला कसरी फैलिन पुग्यो । यसका पछाडि संयोग मात्रै जोडिएको छ वा नियत पनि जोडिएको छ । कुनै समय आनन्द वनका नामले चिनिने लुम्बिनी १३औँ शताब्दीपछिका झन्डै चार–पाँच सय वर्र्षसम्म उपेक्षाको सिकार भयो । जतिखेर सिंगो भारतमा मुस्लिम शासन सुरु भएको थियो, त्यतिखेर नालन्दा, विक्रमाशील लगायतका विहारहरूबाट असुरक्षा महसुस गर्दै भिक्षुहरू विस्थापित भए र त्यसपछिका सयौँ वर्र्षसम्म लुम्बिनी र गौतम बुद्धकालीन अन्य इतिहासहरू ओझेलमा परे । भारतमा ब्रिटिसहरूको औपनिवेशिक शासनपछि मात्रै गौतम बुद्धको इतिहासको विषयमा खोजी सुरु भयो । त्यसो त सातौँ शताब्दीमा नेपालको यात्रा गरेका चिनियाँ यात्री हु यान साङ् र इस्वीको पाँचौँ शताब्दीमा नेपाल यात्रा गरेका फा हिनले लुम्बिनीको भ्रमण गरेर गौतम बुद्ध
नेपालमा जन्मिएको आफ्नो यात्रा वर्णनका पुस्तकहरूमा लेखेका छन् । तर, ऐतिहासिक तवरले खोज, अध्ययन र उत्खनन भने भारतमा ब्रिटिस शासनकालमा मात्रै भएको हो ।
सम्राट अशोकले लुम्बिनीको भ्रमण गर्नुभन्दापहिले पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पवित्र तीर्थस्थलका रूपमा चर्चित थियो । तर, कहिलेदेखि गौतम बुद्ध भारतमा जन्मिए भन्ने निराधार हल्ला फैलियो भन्ने सत्य जान्नका लागि भारतमा ब्रिटिस शासनकालमा भएका अनुसन्धानका शृंखलाहरूको तथ्य खोतल्नुपर्ने हुन्छ । यही शृंखलामा सन् १७८४ मा भारतमा ब्रिटिस नागरिक सर विलियम जोन्सले एसियाटिक सोसाइटी गठन गरेर गौतम बुद्धको ऐतिहासिकताको खोजी सुरु गरे । त्यसपछि ऐतिहासिक तथ्यहरूको खोजी गर्ने उद्देश्य बोकेर सन् १८६२ मा इन्स्पेक्टोरोट अफ आरकियोलोजी नामक संस्थाको गठन भयो । यस संस्थाका प्रमुख सर अलेक्जेन्डर कन्निङघम थिए । कन्निङघमलाई भारतमा फादर अफ आरकियोलोजीका रूपमा चिनिन्छ ।
संस्था प्रमुख भएपछि अलेक्जेन्डरले भारतभरिका सबै भग्नावशेषहरूको गहन अध्ययन गरेर एन्सियन्ट जिओग्राफी अफ इन्डिया नामक पुस्तक लेखे । उनले उक्त पुस्तकमा बुद्धको जीवनकालसँग सम्बन्धित भारतका कुशीनगर, स्राबस्ती, बौद्ध गया लगायतका स्थानको पहिचान गरेका थिए । अलेक्जेन्डरले नै आफ्नो खोजका क्रममा कपिलवस्तु र लुम्बिनी हिमालको काखमा रहेको तथ्य पनि यही बेला पत्ता लगाए । उनले यस तथ्यको प्रामाणिक पुष्टिका लागि राणा शासकहरूबाट अध्ययनको अनुमति नपाएपछि उनले आफ्नो पुस्तकमा लुम्बिनी र कपिलवस्तु हिमालयको काखमा रहेको तथ्य उल्लेख गरे ।
अलेक्जेन्डरले सन् १८८५ मा उक्त संस्थाबाट अवकाश पाए । उनको अवकाशपछि इन्स्पेक्टोरोट अफ आरकियोलोजी नामक संस्था आरकियोलोजिकल सर्भे अफ इन्डियामा परिणत भयो । त्यसपछि उक्त संस्थाले कन्निङघमको बाटो पछ्याउन सकेन । जसरी कन्निङघमले फादर अफ आरकियोलोजी भन्ने उपनाम पाउन सके, उनीपछिका अध्येताहरूले त्यस्तो गरिमा पाउन लायक काम गर्न सकेनन् । जथाभावी साबेल र पिकको प्रयोग गरेर कैयौँ पुरातात्विक क्षेत्रको विनाश गरे भने नेपाल छिर्न नपाएको झाँेकमा कपिलवस्तु र लुम्बिनी भारतको गोरखपुर र वस्ती जिल्लामा हुनुपर्ने अनुमान पनि ठोकिदिए । यही अनुमानमाथि टेकेर नै कैयन वर्र्षपछि गौतम बुद्ध भारतमा जन्मिएको तर्क फैलाउन सुरु गरियो ।
यस अनुमानलाई पछि आरकियोलोजिकल सर्भे अफ इन्डियाले गरेको खोजले नै निराधार रहेको पुष्टि ग¥यो । सन् १८९६ मा जर्मन पुरातत्वविद् एन्टोन फ्युरर र नेपालका खड्ग शमशेरले गौतम बुद्ध नेपालको लुम्बिनीमा रहेको र राजा अशोकले गौतम बुद्धका बारेमा लेखेका अशोक स्तम्भहरू निग्लीसागर, लुम्बिनी र गोटीहवामा रहेका तथ्यहरू उत्खनन गरेर प्रमाणित गरे । फ्युररले आफ्नो खोजको सफलतापछि सबै विवरण लखनउ मेजिस्ट्रेटसमक्ष पेस गरे । फ्युररले गरेको अनुसन्धानको विवरण त्यतिबेलै सन् १८९६ मा लखनउबाट प्रकाशित हुने पायोनियर पत्रिकामा महत्वका साथ प्रकाशित भएको छ । त्यतिखेर ब्रिटिसहरूले आफ्नो यस सफलतालाई ऐतिहासिक तथ्यहरूको उत्खननमा भएको सबैभन्दा ठूलो सफलताका रूपमा अथ्र्याएका छन् । फ्युररपछि भारतीय इतिहासबेत्ता पीसी मुखर्जीले सन् १८९९ मा कपिलवस्तुको स्थलगत अध्ययन र नक्साङ्कन गरेर गौतम बुद्धको जन्मस्थान लुम्बिनीको विषयमा थप प्रामाणिक ऐतिहासिक तथ्यहरू सार्वजनिक गरे । मुखर्जीका सन् १९९१ मा स्ट्रक्चरल प्लान अफ लुम्बिनी नामक पुस्तक पनि प्रकाशित भएको छ । भ्रमपूर्ण तथ्यमाथि टेकेर गरिएको दुष्प्रचारकै कारण आज गौतम बुद्धको जन्मस्थान लुम्बिनीले प्रख्याति हासिल गर्न सकेको छैन ।
अधिकांश भारतीय ट्राभल्स एजेन्सीले अन फुट पाथ अफ बुद्ध नाम दिइएको भ्रमण प्याकेजमा गौतम बुद्ध भारतमा जन्मिएको भन्ने तथ्य आफ्नो आधिकारिक वेबसाइटमा राखेका छन् । त्यस्ता ट्राभल्स एजेन्सीले बर्सेनि हजारौँ पर्यटकलाई तीर्थस्थलको भ्रमण गराउने भन्दै भारत मात्रै भ्रमण गराउँछन् । नेपाल भ्रमण गराइहाले पनि तिनीहरू मुस्किलले एक दिन मात्रै लुम्बिनी पुग्छन् र फर्किहाल्छन् । इतिहासको खोजी नगर्नु जति मूर्खतापूर्ण काम हो, ऐतिहासिक सत्यको विश्वव्यापी प्रवद्र्धन गर्न नसक्नु पनि उत्तिकै कमजोरी हो । इतिहास भएर पनि त्यसको संरक्षण गर्न नजान्ने र प्रवद्र्धन गर्ने काममा प्रत्येक नागरिकले कुरा मात्रै नगरेर काम गर्ने हो भने कमसेकम बुद्धप्रतिको सच्चा सम्मान हुने थियो ।
आस्थाको केन्द्र लुम्बिनी
विश्वमा झन्डै पचास करोड बुद्धिष्ट छन् । त्यस्तै नेपालमा करिब २४ लाख अर्थात् कम्तीमा जम्मा जनसंख्याको नौ प्रतिशत बुद्धिष्ट छन् । सबैको आस्थाको केन्द्र लुम्बिनी । बुद्धको जन्मस्थल अवलोकन गर्न आन्तरिक र बाह्य पर्यटक लाखौँको संख्यामा लुम्बिनी पुग्छन् । नेपालको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्पत्ति लुम्बिनीले नेपालबाट भन्दा बढी बाहिरबाट माया पाएको छ । संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उथान्तले १९६७ मा लुम्बिनी भ्रमणपछि बद्धभूमिमा ठोस काम गर्नका लागि सन् १९७० मा राष्ट्रसंघका सदस्य राष्ट्रहरूको सहयोग जुटाउन एसियाका १६ देशका राष्ट्रसंघीय प्रतिनिधिहरू संलग्न ‘लुम्बिनी राष्ट्रसंघ समिति’ गठन गरेका थिए । संयुक्त राष्ट्र विकास कार्यक्रम यूएनडीपी मार्फत जापानी आर्किटेक्ट प्रो.केन्जो टाङेलाई लुम्बिनीको बिकासको विस्तृत कार्य योजना बनाउन लगाए । १९७८ मा उनले गुरुयोजना पनि तयार गरे । उक्त योजनाले ७ वर्र्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष्य राखिए तापनि तीन दशकभन्दा बढी भइसक्यो । विश्वव्यापी महत्व दिएर तयार पारिएको गुरु योजना सम्बन्धित देशबाटै भने कुनै चासो नै नदिएर कार्यान्वयनले पूर्णता पाउन सकेको छैन ।
FACEBOOK COMMENTS